छोरी मात्र जन्माए अब १२ कक्षासम्म निःशुल्क शिक्षा

गोरखा । गोरखाको एक स्थानीय तहले छोरीहरुलाई कक्षा ११ र १२ निःशुल्क पढाउने भएको छ । जिल्लाको अजिरकोट गाउँपालिकामा एक वा दुई छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गरेका दम्पत्तिका दुवै छोरीहरुले ११ र १२ कक्षा निशुल्क पढ्न पाउने हुन् । चालु आर्थिक वर्षबाट गाउँपालिकाले उनीहरुलाई ११ र १२ को शिक्षाका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।

‘छोरी भए पुगेसरी निशुल्क शिक्षा’ कार्यक्रम अन्तर्गत छात्रवृत्ति उपलब्ध गराइने गाउँपालिकाका सूचना अधिकारी सुरेश दवाडीले जानकारी दिनुभयो । दवाडीका अनुसार यस आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि एक लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

रकम अपुग भए हिउँदे अधिवेशनबाट पास गराएर रकम थप गर्न सकिने उहाँले बताउनुभयो । नेपालभर जुनसुकै शैक्षिक संस्थामा अध्ययन गरे पनि छात्रवृत्ति उपलब्ध गराइने दवाडीले जानकारी दिनुभयो ।

छात्रवृत्तिका लागि निवेदन संकलनको काम भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार हालसम्म सात वटा निवदेन परेको छ ।

‘दुइ वा एक छोरी मात्र पाएर स्थायी बन्ध्याकरण गरेका दम्पतिका छोरीहरु कक्षा ११ र १२ मा पढ्दै छन् भने गाउँपालिका कार्यालयको शिक्षा शाखामा निवदेन दिन सकिने गाउँपालिकाले जनाएको छ । सामाजिक विकास समितिले आएको निवदेनमाथि छानविन गरी छात्रवृत्तिका लागि स्वीकृत गर्छ अनि छात्रवृत्ति उपलब्ध गराउने बताइएको छ ।

लैङ्गिक बिभेद अन्त्य र जनसंख्या वृद्धिदर न्यूनिकरणका लागि उक्त कार्यक्रम ल्याएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *