कालो चिया भन्दा हरियाे चिया स्वास्थ्यका लागि फाइदाजनक

काठमाडौं । मुटु नै थुरथुर कमाउने यो कठ्याङ्ग्रिदो जाडोमा तातो तातो चिया कसलाई मन पर्दैन होला र । यसै पनि नेपाली संस्कारमा चिया सत्कारका रुपमा पस्किने पहिलो परिकार नै हो । साथीभाइ इष्टमित्र भेटहुँदा गफ गर्ने चिया पिउने अधिकांशको बानी हुन्छ । तन्नेरी होस् वा पाकापुस्ता चिया पसलमा बसेर चियाको चुस्कीमा देशै उल्ट्याउने गफ लगाउन पनि पछि पर्दैनन् यो बेला ।

हुन त आजभोलि ब्यवसायीहरुले चियाको अनेकथरी नाम दिएर व्यवसाय गरेकै छन् । उही ढुङ्गो पकाउँछु भनेर कञ्जुस बुढीलाई छक्याएर खिचडी पकाएर खाने बटुवाले जस्तै चियाका परिकारका पनि विभिन्न नाम दिएर त्यसका अनेक किसिमका स्वाद र फाइदा हुने भन्दै बेचिरहेकै छन् केही ब्यवसायीहरु ।

उसो त कतिपयको लत नै हुन्छ चिया पिउने । चिया पिए पनि त्यसका फाइदा बेफाइदाका बारेमा भने कमैलाई मात्र थाहा होला सायद । दुध हालेको चिया भन्दा कालो चिया नै मन पराउने पनि धेरै हुन्छन् ।

यहाँ हामीले ग्रिन टी अर्थात हरियो चिया पिउनुका फाइदाका बारेमा चर्चा गर्दैछौँ । कालो चिया पिउनुभन्दा हरियो चिया स्वास्थ्यको लागि हितकर हुने एक अनुसन्धानले पत्ता लगाएको छ ।

एक हप्तामा कम्तिमा तीनपटक हरियो चिया पिउनाले मुटुसम्बन्धी रोगहरुबाट बच्ने, लामो आयु र स्वस्थ जीवनको लागि चीनमा फाइदाजनक भएको अनुसन्धानले पत्ता लगाएको हो ।

यो फाइदा पुरुषमा स्पष्ट रुपमा देखिएको छ । एकलाख नौसय दुईजना चिनियाँ जनतासँग सातवर्षसम्म गरिएको अनुसन्धानले यस्तो निष्कर्ष पत्ता लागेको हो । – एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *