राष्ट्रियसभा ः डोटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

डोटी । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको निर्वाचन अधिकृतको कार्यालय डोटीको सिलगढीमा स्थापना भएको छ । आगामी माघ ९ गते हुने निर्वाचनका लागि सिलगढीमा कार्यालय स्थापना गरिएको हो । जिल्ला सदरमुकाम सिलगढीको जिल्ला अदालतमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको न्यायाधीश एवं निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिनुभयो । राष्ट्रियसभामा रिक्त हुन लागेका कूल १८ सदस्य पदमध्ये सुदूरपश्चिम प्रदेशमा दुई सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६ अनुसार निर्वाचन गराउन सुदूरपश्चिम प्रदेशका लागि डोटी जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेलाई निर्वाचन अधिकृतको अख्तियारी प्रदान गरिएको छ । सुदूरपश्चिमका प्रदेशसभा सदस्य ५३ र स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष १७६ गरी कूल २२९ जना मतदाता रहेकोसमेत निर्वाचन अधिकृत काफ्लेले जानकारी दिनुभयो ।

राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट रिक्त रहेको दुई पदमध्ये एक जना महिला तथा एक जना पुरुष रहेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ । राष्ट्रियसभाको निर्वाचन माघ ९ गते जिल्लाको पद्म पब्लिक मुक्तिनारायण माविमा हुने भएको निर्वाचन अधिकृत काफ्लेले बताउनुभयो ।

दुई वटा मतदान केन्द्र रहेको निर्वाचनमा सोही स्थानमा ‘क’ र ‘ख’ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रियसभा निर्वाचन गराउने कार्यतालिका अनुसार यही पुस १७ गते मतदाताको नामावली प्रकाशन गरी सोही दिन अपराह्न ४ बजेसम्म नामावलीमाथि दाबी विरोध गर्ने समय दिइएको छ । पुस १८ गते मतदाता उपर परेको उजुरी छानविन गरी अन्तिम नामावली पुस १९ गते प्रकाशन गरिने कार्यसूची रहेको छ । पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन अधिकृतको कार्यालयले डोटीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *