यस्ताे देखियाे टुँडिखेलमा तमू ल्हाेसार [ फाेटाे फिचर ]

काठमाडाैँ । गुरुङ समुदायले पुरानो मृग वर्षलाई बिदाइ गरी नयाँ मुसा वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाएका छन् । गुरुङ समुदायले प्रत्येकवर्ष पुस १५ गते नयाँ वर्षका रुपमा ल्होसार मनाउँछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको हो ।

परापूर्व कालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट नयाँ वर्षको नामाकरण गरेका हुन् । मुसा, गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो ।

यस अवसरमा तमू ह्यूल छोँज धीँ गुरुङ राष्ट्रि«य परिषद्ले टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुभयो । तमू ल्होसारका मूलसमारोहमा सहभागी हुनुभई उहाँले विभिन्न जिल्लाबाट राजधानी आई बसेका गुरुङ समुदायले प्रस्तुत गरेको मौलिक पहिचानसहितको सांस्कृतिक झाँकी अभिरुचिपूर्वक हेर्नुभएको थियो ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले हिमाल, पहाड र तराई एवं गरीब तथा धनीका बीचको खाडल अहिलेको स्थिर सरकारले पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङले लोकतान्त्रिक गणतन्त्र भनेको राजाका स्थानमा राष्ट्र«पति स्थानान्तरण बाहेक अरु काम हुन नसकेको बताउनुभयो । तमु ल्होसारको कार्यक्रममा राष्ट्र«पति उपस्थित हुनुभए पनि सम्बोधन नगरिनु र गुरुङ समुदायको राष्ट्रिय गीतसमेत प्रस्तुत गर्न नदिएकोप्रति उहाँको आपत्ति थियो ।

वर्तमान सरकारले जनजातिका पर्वको पाँच वटा बिदा काटेर विभेद गरेकोप्रति गुरुङ समुदायले विरोध जनाएका छन् । वर्षभरको १५ दिन सार्वजनिक बिदामा ११ दिन एउटै धार्मिक एवं सामाजिक समुदायका लागि दिइनु विभेद्को उदाहरण भएको अध्यक्ष गुरुङको तर्क थियो ।

टुँडिखेलमा १५० भन्दा बढी कक्ष स्थापना गरी गुरुङ समुदायले उत्पादन गरेका चीजबीजका साथै खानालगायत सांस्कृतिक प्रदर्शनी पनि गरिएको छ । मूलसमारोहको कार्यक्रमअघि वसन्तपुरबाट शहरका विभिन्न भाग परिक्रमा गर्दै टुँडिखेलसम्म विभिन्न जिल्लाबाट राजधानी आइबसेका गुरुङ समुदायले सांस्कृतिक झाँकीसहित प्रदर्शनी गरेका थिए । पर्वका अवसरमा आज बेलुकीसम्म नै लोकदोहोरीलगायत सांस्कृतिक प्रदर्शनी, गीत, नृत्यलगायत प्रदर्शनी गरिने आयोजक समितिका महासचिव लोकबहादुर गुरुङले बताउनुभयो ।

सबै तस्विर/रासस

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *