निजगढ विमानस्थल निर्माणका लागि तत्काल रुख कटान नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि तत्काल रुख कटान नगर्न आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र कुमार रेग्मीको संयुक्त इजलाशले यस्तो आदेश गरेको हो ।

यसअघि मंसिर २० गते न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलाशले अर्को आदेश नआएसम्म रुख कटान नगर्न आदेश गरेको थियो । आइतबार सर्वोच्च अदालतले एकल इजलाशकै आदेशलाई निरन्तरता दिएको हो ।

रञ्जु हजुर पाँडे क्षेत्री, डा.विजय कुमार सिंह दनुवार, पंकज कुमार कर्ण, वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारी र पूर्व प्रशासक डा. द्वारिकानाथ ढुंगेलसहितले दायर गरेको रिटमा आइतबार सुनुवाई गर्दै अदालतले विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो । रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालय प्रदेश नं। २ र प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरणलाई विपक्षी बनाइएको छ ।

आदेशमा निजगढ विमानस्थलसँग सम्बन्धित अर्को पनि मुद्दा परेकाले आइतबार सुनुवाई भएको मुद्दासँगै सो मुद्दालाई पनि साथै राख्न भनिएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणी शर्माले दायर गरेको रिट पनि अब पाँडे क्षेत्रीसहितले दायर गरेका्े मुद्दासँगै राखेर सुनुवाई हुनेछ ।

सर्वोच्च अदालतले यसअघिको आदेशमा अदालतले विपक्षीसँग लिखित जवाफ समेत मागेकाले एक महिनापछि लिखित जवाफ आएपछि सुनुवाई गर्ने भन्दै हेर्दाहेर्दैमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *