‘भेहिकल फिटनेस सेन्टर’बाट अपेक्षाकृत काम भएन

काठमाडौँ। उपकरणको प्रयोगबाट सवारी साधनको प्रदूषण परीक्षण गर्ने एकमात्रै कार्यालयका रुपमा रहेको ‘भेहिकल फिटनेस सेन्टर’ले अपेक्षाकृतरुपमा काम गर्न सकेको छैन । सवारी साधनको प्रदूषण जाँच गर्ने केन्द्रका रुपमा रहेको ‘भेहिकल फिटनेस सेन्टर’ को क्षमता आवश्यकताभन्दा कम रहँदा यसले सरकार र नागरिकले चाहेजसरी सेवा दिन नसकेको हो ।

देशभरमा लाखौँ सवारीसाधन रहेकामा यस केन्द्रमा दैनिक झण्डै ६० वटा मात्रै सवारीसाधन परीक्षण गर्न सक्ने क्षमता छ । केन्द्रले एक घण्टामा दैनिक पाँचदेखि छ वटासम्म र एक दिनमा सात घण्टा काम गर्ने हुनाले धेरै सवारीको परीक्षण हुन नसक्ने केन्द्रका प्रमुख रामचन्द्र पौडेलले बताउनुभयो ।

उहाँका अनुसार यस केन्द्रमा ट्याक्सी, टेम्पो र माइक्रो बसको सवारी परीक्षण उपकरण र मानिस दुवैले गर्दै आएका छन् । त्यस्तै विद्युतीय बसको सक्षमता र रात्रि बसको स्तर निर्धारणको काम केन्द्रले गर्दै आएको छ । उहाँले भन्नुभयो, “देशका धेरै ठाउँमा यस्ता केन्द्र खोल्न आवश्यक छ, एउटा केन्द्र मात्रै पर्याप्त छैन ।”

सीमित सवारी साधनको मात्रै सवारी जाँच हुने गरेकामा सबै प्रदेशमा केन्द्र स्थापना गरेर सबै सवारी साधनको नियमित परीक्षण हुनुपर्नेमा उहाँको जोड छ । अहिले काठमाडौँ उपत्यकामा चल्ने सानाको मात्रै प्रदूषण जाँच गरेकामा ठूला सार्वजनिक, निजी, सरकारी, संस्थान र कूटनीतिक नियोगका सवारी साधनको नियमित परीक्षण हुनुपर्ने उहाँले बताउनुभयो । प्रमुख पौडेलले भन्नुभयो, “देशभरका यातायात कार्यालयले उपकरण नभए पनि आँखाले हेरेर प्रदूषण जाँच गरेर मात्रै नवीकरण गर्नुपर्छ ।” रासस

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *