What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
सङ्घीय संसद्का १२ विषयगत समितिको सभापतिमा मनोनयन दर्ता
काठमाडौँ । सङ्घीय संसद्का १२ विषयगत समितिको सभापतिमा मनोनयन दर्ता भएको छ । समिति सभापतिको निर्वाचन कार्यक्रमअनुसार आज अपराह्न ४ः०० बजेसम्म प्रतिनिधिसभाका दश र दुई संयुक्त समितिको सभापतिमा मनोनयन दर्ता भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।
प्रतिनिधिसभाको अर्थ समितिको सभापतिमा डा कृष्णहरि बुढाथोकी, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहवर अन्सारी, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल र सार्वजनिक लेखा समितिको सभापतिमा भरतबहादुर खड्काको मनोनयन दर्ता भएको छ ।
महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा ओजस्वी शेरचन र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गुरुप्रसाद बरालको मनोनयन दर्ता भएको छ ।
सङ्घीय संसद्को संयुक्त समितिका रूपमा रहेको संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति सभापतिमा रास्वपाका गणेश कार्की र नेपाली कम्युनिष्ट पार्टीका सांसद मदनकुमारी शाह (गरिमा) को उम्मेदवारी दर्ता भएको छ ।
सङ्घीय संसद् सचिवालयले सभापति उम्मेदवारको मनोनयनसम्बन्धी सूची प्रकाशित गरेको छ । शुक्रबार अपराह्न १ः०० बजे बस्ने सम्बन्धित समितिको बैठकमा सभापतिको मनोनयसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिवालयका प्रवक्ता गिरीले जानकारी दिनुभयो ।






