What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
देशमा आन्दोलन लगातार, हतासमा निर्णय गरेर आफ्नो खुट्टामा आफैं बञ्चरो हान्दै बालेन सरकार !
What To Know
- गृहमन्त्री गुरुङ्ग त आफैं मैदानमा थिए । शान्तिपूर्ण आन्दोलन भनेर आतंक मच्चाउने त यिनीहरु हुन् । पुराना नेताहरुलाई कुटिएको छ । प्रहरीलाई कुटेर मारिएको छ । नेताहरुको घर जलाइएको छ । सार्वजनिक सम्पत्ति खरानी बनाइएको छ । देशमा आतंक सिर्जना गरेर पदमा पुगेकाहरु फेरि आतंक सिर्जना गर्ने बाटोमा लागेका छन् ।.
- ठूल्ठूला काण्ड छानबिन गर्नुपर्ने हो । तर, सरकार त्यतातिर लागेन । जसरी हुन्छ ओली र लेखकलाई समात्ने अनि जेल कोच्ने । सरकारको पहिलो निर्णय नै त्यहीँ भयो । ओली एउटा व्यक्ति मात्रै होइनन्, पार्टीको नेतृत्व हुन् । यद्यपि, सरकारले त्यो कुरा बुझेन । हतासमा ओलीलाई पक्राउ गरियो ।.
अनुषा थापा
बालेन्द्र साह नेतृत्वको सरकारले हिजो बिहान एकाएक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ । पक्राउसँगै आम नागरिकमा बहस छेडिएको छ–अब देशमा के हुन्छ ? बालेन सरकारको सो कदमको चर्को विरोध भइरहेको छ । सडक संघर्ष शुरु भइसकेको छ ।
हिजो देशब्यापी प्रदर्शन भएकोमा त्यसले अब दिनहुँ निरन्तरता पाउने देखिएको छ । यसले सर्वसाधारण जनतालाई समस्यामा पर्ने निश्चित छ । आन्दोलन शुरु भएपछि हिजो धेरै पसल बन्द भयो । सार्वजनिक यातायात अस्तव्यस्त बनिसकेको छ । कतिपय नवनिर्वाचित सांसदले पुनः मध्यावलिमा जानुपर्ने अवस्था निम्तिन सक्ने आशंका गरिसकेका छन् ।
हिजोदेखि प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन गुरुङ्गको राजीनामाको माग उठिसकेको छ । भदौ २३ र २४ गतेको आन्दोलनमा समर्थन जनाउने र सार्वजनिक सम्पत्ति जलाउने जानेहरु अहिले सरकारमा छन् । रास्वपाका सभापति रवि लामिछानेले जेलभित्र र बालेनले सामाजिक सञ्जालबाट आन्दोलनलाई समर्थन जनाएका थिए ।
गृहमन्त्री गुरुङ्ग त आफैं मैदानमा थिए । शान्तिपूर्ण आन्दोलन भनेर आतंक मच्चाउने त यिनीहरु हुन् । पुराना नेताहरुलाई कुटिएको छ । प्रहरीलाई कुटेर मारिएको छ । नेताहरुको घर जलाइएको छ । सार्वजनिक सम्पत्ति खरानी बनाइएको छ । देशमा आतंक सिर्जना गरेर पदमा पुगेकाहरु फेरि आतंक सिर्जना गर्ने बाटोमा लागेका छन् ।
एमाले र काँग्रेस मात्रै होइन, अन्य दल पनि सरकारको यो कदमविरुद्ध सडकमा आउने देखिन्छ । यसले देशमा कहिल्यै शान्ति आउने देखिँदैन । एउटा आन्दोलन सकिन पाको छैन, अर्को शुरु हुन्छ । सडकमा जनताभन्दा धेरै प्रहरी र सशस्त्र देखिन थालेका छन् । यस्तै पारा हो भने गरिखाने वर्गले के गर्ने ?
ओली र लेखकको पक्राउ राजनीतिक प्रतिशोधजस्तै देखिएको छ । काम गरेको देखाउन सरकारले हताहतीमा निर्णय गर्यो । त्यसले के अवस्था आउन सक्छ ? सरकारले सोचेन । भर्खँरै देश एउटा जटिल मोडबाट गुज्रिएको थियो । नेपाल सुरक्षित छैन भन्ने छाप पर्यटकहरुलाई परेको थियो ।
भदौ २३ र २४ गते भएको प्रदर्शनपछि उद्योगीहरु लगानी गर्न डराएका छन् । यस्तो अवस्थामा सरकारले पहिले सबैको विश्वास कमाउने कि सस्तो लोकप्रियताका लागि ओली र लेखकलाई झ्याम्पझुप समात्ने ? ओली र लेखकलाई तत्काल समाउनपर्ने कारण नै थिएन ।
पहिले सरकारले काम गरेर देखाउनुपर्थ्यो । रास्वपाले काम गर्छ भनेर प्रमाणित गर्नुपर्थ्यो । तर, सरकार द्धन्द्ध निम्त्याउने बाटोमा लाग्यो । अहिले भइरहेको आन्दोलनले कुन रुप लिने हो ? देशलाई कति क्षति पुर्याउने हो ? भन्न सकिन्न । रास्वपाको बहुमत आउने पक्का भएपछि सर्वसाधारणले २५ सयको सेयरमा तीन हजार लगानी गरे ।
अहिले उनीहरु डराएका छन् । सडक आन्दोलनसँगै आफूहरु डुब्छौं भन्ने उनीहरुलाई परेको छ । रास्वपाको सरकार बनेपछि देशमा शान्ति सुरक्षा आउँछ । लगानीको वातावरण बन्छ । उद्योग, कलकारखाना खुल्छ भन्ने अपेक्षा जनतालाई थियो । त्यसैले त सेयरमा आँखा चिम्लेर लगानी गरे ।
अहिले उनीहरुलाई तनाव भएको छ । यही अवस्थाले देशमा बेरोजगारी बढ्छ । मँहगीले सीमा नाँघ्छ । आन्दोलन चर्किएपछि सर्वसाधारणले दुःख पाउँछन् । राज्यलाई क्षति हुन्छ । ओली र लेखक कहीँ भाग्दैनन् । देशमै बसिरहेकालाई अहिले जेलमा कोच्नुपर्ने के कारण छ ? सरकारले त पहिले भ्रष्टाचारका फाइल खोल्नुपर्ने हो ।
ठूल्ठूला काण्ड छानबिन गर्नुपर्ने हो । तर, सरकार त्यतातिर लागेन । जसरी हुन्छ ओली र लेखकलाई समात्ने अनि जेल कोच्ने । सरकारको पहिलो निर्णय नै त्यहीँ भयो । ओली एउटा व्यक्ति मात्रै होइनन्, पार्टीको नेतृत्व हुन् । यद्यपि, सरकारले त्यो कुरा बुझेन । हतासमा ओलीलाई पक्राउ गरियो ।
ओली र लेखकलाई हतारमा समातेर सरकारले ‘आफ्नो खुट्टामा आफैं बञ्चरो’ हानेको छ । आन्दोलन चर्किँदै गएमा घाटा हुने अहिलेकै सरकारलाई हो । काँग्रेस र एमालेले गत निर्वाचनमा भलै कम सिट ल्यायो, तर तिनको संगठन छ । वडा–वडामा संगठन छ, कार्यकर्ता छन् ।
तर, अहिलेको सरकारले त्यो बुझेन । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा खेपिरहेका रास्वपाका सभापति रवि लामिछानेले आफू पक्राउ पर्दा गठबन्धनको सरकारले दम्भ देखाएको आरोप लगाउथें । अहिलेचाँहि रास्वपाले झण्डै दुई तिहाईको घमण्ड देखाएको होइन ?
रवि, ओली र लेखकको केस छुट्टाछुट्टै हो । रवि जनताको पैसा खाएको आरोपमा जेल चलान भएका थिए । उनीमाथि आधा दर्जन सहकारीको पैसा खाएको आरोप छ । ओली र लेखकले कसैको पैसा खाएका छैनन् । जेनजी आन्दोलनका क्रममा उनीहरु सरकारमा थिए । सरकारको नेतृत्व उनीहरुले गरेका थिए ।
शान्तिपूर्ण आन्दोलनलाई एकाएक उग्र बनाउनेहरु अहिले सरकारमा जाँदा त्यतिबेलाका नेतृत्वलाई पक्राउ गरिएको छ । आन्दोलनको आयोजना गर्ने, शान्तिपूर्ण भनेर हिंसा मच्चाउनेमाथि कारबाही हुनुपर्ने कि मन्त्री पद पाउनुपर्ने ? बालेन सरकारले २४ घण्टा नबित्दै ओली र लेखकलाई समात्यो ।
यसले नै उनीहरुको नियत छर्लङ्ग हुन्छ । पदको घमण्ड गर्दा हिजो राजाले पनि दरबार छोड्नुपर्यो । बालेनले पनि पदको घमण्ड देखाइरहेका छन् । राजाकै हविगत नहोला भन्न नसकिने भएकाले अहिलेको सरकारले स्मरण गरेर मात्र कदम चलाउन जरुरी छ । जनताभन्दा ठूलो कोही छैन ।
आन्दोलनका क्रममा कुनै पार्टीको कार्यकर्ता वा प्रहरी मरेपनि आखिर मर्ने जनता नै हुन् । जनताले राजनीतिक इगो साँधेर देशलाई द्धन्द्धमा धकाल भनेर रास्वपालाई मत दिएका होइनन् । बन्द भएका उद्योग पुनः सञ्चालनमा ल्याउलान्, सरकारी सम्पत्ति खोज्लान्, विदेश जान नपर्ला, मँहगी घट्ला, रोजगारी पाइएला भनेर रास्वपालाई जनताले भोट दिएका हुन् ।
तर, रास्वपा त्यसमा भन्दापनि ओली र लेखकलाई समात्नमा केन्द्रित भयो । जनताले ग्याँस पाएका छैनन् । इन्धनको भाउ निरन्तर बढिरहेको छ । खाद्यान्नको बढ्दो भाउले जनताको ढाड सेकिएको छ । विडम्बना, जनताको पीडा बुझ्नभन्दा पनि सरकार राजनीतिक इगो साध्नमा ध्याउन्न भयो ।
अहिले त सरकारले जनताको पीडामा मल्हम लगाउनुपर्थ्यो । सरकारले काम गरेर ओली र लेखकलाई समातेको भए सर्वत्र वाहवाही हुन्थ्यो । कोही पनि सरकारको विरोधमा सडकमा आउँदैनथें । तर, सरकार घमण्डमा लाग्यो, सडक तात्यो । यसको क्षति कति हुने हो ? अहिले नै भन्न सकिन्न ।
जनताले युवा भनेर रास्वपाका उम्मेदवारहरुलाई भोट दिए । तर, यिनीहरु आँलाकाँचा रहेछन् भन्ने देखिइसकिएको छ । बुढापाकाले भन्छन् नि, कि पर्नुपर्छ कि पढ्नुपर्छ । सरकार इगोले चल्दैन । सरकारले कुनै निर्णय गर्दा धेरै सोचविचार गर्नुपर्छ । त्यसबाट हुन सक्ने क्षति र देशलाई पर्न सक्ने असरको पहिल्यै मूल्याङ्कन गर्नुपर्छ ।
तर, बालेन सरकारमा त्यो क्षमता देखिएन । शपथ ग्रहण गरेको केही घण्टामै प्रहरी खटाएर पक्राउ गरिहाले । नेपालमा आठपटक चुनाव भयो । त्यसबाट बनेको सरकार एकाध वर्ष टिक्थें । बालेन सरकारको भविष्य कतिञ्जेललाई हो ? भन्ने बहस शुरु भइसकेको छ ।






