खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

What To Know

  • बैंकका अनुसार निक्षेपकर्तालाई प्रदान गरिएको ब्याजबाट काटिएको करको विवरण E-TDS प्रणालीमा देखाउन प्यान अनिवार्य हुन्छ। प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण सम्बन्धित प्यानमा प्रविष्ट गरिने र आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा कर विवरण मिलान गर्नेछ। यसबाट ग्राहकलाई करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने र प्रमाणपत्र लिन बैंक धाउनुपर्ने झन्झट पनि हट्ने विश्वास बैंकले व्यक्त गरेको छ।.
  • यसैगरी, बैंकले ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ। ग्राहकहरूले बैंकको भिडियो केवाईसी सेवा वा मोबाइल बैंकिङ एपको “My Profile” मा रहेको “Change Email” विकल्प प्रयोग गरी ईमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्। शाखा कार्यालयबाट पनि ईमेल अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था रहेको बैंकले जनाएको छ।.

काठमाडौं। एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह गरेको छ। बैंकले फागुन २५ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत यस्तो अनुरोध गरेको हो।

बैंकका अनुसार ग्राहकको खाताबाट काटिएको करको विवरण “आयकर ऐन २०५८” अनुसार नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले सञ्चालन गरेको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गरिनुपर्ने व्यवस्था रहेको छ। त्यसका लागि ग्राहकहरूले आफ्नो प्यान विवरण अद्यावधिक गर्न आवश्यक रहेको बैंकले जनाएको छ।

ग्राहकहरूले बैंकको अनलाइन पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एप NIC ASIA MoBank मा रहेको “PAN Update” विकल्प प्रयोग गरी सहजै प्यान अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ। साथै, आफूलाई पायक पर्ने बैंकको जुनसुकै शाखा कार्यालयमा पुगेर पनि प्यान अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

बैंकका अनुसार निक्षेपकर्तालाई प्रदान गरिएको ब्याजबाट काटिएको करको विवरण E-TDS प्रणालीमा देखाउन प्यान अनिवार्य हुन्छ। प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण सम्बन्धित प्यानमा प्रविष्ट गरिने र आयकर प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा कर विवरण मिलान गर्नेछ। यसबाट ग्राहकलाई करकट्टी प्रमाणपत्र तथा कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुने र प्रमाणपत्र लिन बैंक धाउनुपर्ने झन्झट पनि हट्ने विश्वास बैंकले व्यक्त गरेको छ।

यद्यपि, ग्राहकले प्यान अद्यावधिक नगरेका कारण E-TDS मा ब्याजकर दाखिला नभएमा वा त्यसपछि कर समायोजन गर्नुपर्ने अवस्था आएमा बैंक जिम्मेवार नहुने पनि बैंकले स्पष्ट पारेको छ।

यसैगरी, बैंकले ग्राहकहरूलाई आफ्नो खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न अनुरोध गरेको छ। ग्राहकहरूले बैंकको भिडियो केवाईसी सेवा वा मोबाइल बैंकिङ एपको “My Profile” मा रहेको “Change Email” विकल्प प्रयोग गरी ईमेल ठेगाना अद्यावधिक गर्न सक्नेछन्। शाखा कार्यालयबाट पनि ईमेल अद्यावधिकका लागि आवेदन दिन सकिने व्यवस्था रहेको बैंकले जनाएको छ।

यसअघि बैंकमा प्यान उपलब्ध गराए पनि करकट्टी विवरण समावेश नभएको वा ईमेल अद्यावधिक नभएको अवस्थामा नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रका फोन नम्बर १६६०–०१–७७७७१ र ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन बैंकले आग्रह गरेको छ।

यो जानकारी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी जयन्द्र रावलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *