लोकतन्त्रको आत्मा भनेकाे जनताको आवाजको सुनुवाइ हाे : प्रधानमन्त्री कार्की

What To Know

  • उहाँले असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई लागू भएको नेपालको संविधान नेपाली जनताको बलिदान, सङ्घर्ष र आन्दोलनको प्रतिफल भएको स्मरण गर्दै यसको संरक्षण र सफल कार्यान्वयन सबै नेपालीको साझा दायित्व भएको बताउनुभयो ।.
  • प्रधानमन्त्री कार्कीले हालैको जेनजी आन्दोलनलाई युवापुस्ताको असन्तुष्टि र अपेक्षाको प्रतिफलका रूपमा व्याख्या गर्दै लोकतन्त्र भनेको संवाद र समाधान खोज्ने प्रणाली भएकाले सरकार जनताका आवाज सुन्न र सम्बोधन गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।.

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले जनताको आवाजको सुनुवाइ नै लोकतन्त्रको आत्मा भएको बताउनुभएको छ । लोकतान्त्रिक प्रणाली आवाज सुन्ने व्यवस्था हो भन्दै उहाँले संविधान दिवस सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्याङ्कन गर्ने दिन पनि हो भन्नु भएको छ ।

प्रधानमन्त्री कार्कीले सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै यस्तो विचार व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री कार्कीले विगतका उपलब्धि र कमजोरीको आत्ममूल्याङ्कन गर्दै आगामी दिनमा सुधारसहित अघि बढ्ने सङ्कल्प व्यक्त गर्नुभएको छ ।

उहाँले असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई लागू भएको नेपालको संविधान नेपाली जनताको बलिदान, सङ्घर्ष र आन्दोलनको प्रतिफल भएको स्मरण गर्दै यसको संरक्षण र सफल कार्यान्वयन सबै नेपालीको साझा दायित्व भएको बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले हालैको जेनजी आन्दोलनलाई युवापुस्ताको असन्तुष्टि र अपेक्षाको प्रतिफलका रूपमा व्याख्या गर्दै लोकतन्त्र भनेको संवाद र समाधान खोज्ने प्रणाली भएकाले सरकार जनताका आवाज सुन्न र सम्बोधन गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

उहाँले आफू अन्तरिम व्यवस्थापनका लागि प्रधानमन्त्री बनेको स्पष्ट गर्दै छ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने बताउनुभयो ।

संविधान दिवसको अवसरमा उहाँले जनआन्दोलनदेखि हालको आन्दोलनमा प्राण गुमाउने शहीदप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभ र क्षतिको पुनर्निर्माणमा सबैलाई हातेमालो गर्न आह्वान गर्नुभयो ।

साथै, सुशासन, पारदर्शिता, भ्रष्टाचार अन्त्य, रोजगारी र विकासका प्रश्नलाई राष्ट्रिय एजेन्डा मानेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत विशिष्ट पाहुनाको उपस्थिति थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *