मिथेन ग्याँस र फलाम छिटो उत्पादनमा लाग्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको मिथेन ग्याँस र पूर्वी नवलपरासीको धौवादी फलाम खानीको उत्पादनमा गम्भीर भएर अघि बढ्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

बालुवाटारमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्रीलाई चीनको सहयोगमा सम्पन्न पेट्रोलियम अन्वेषणको नतिजाबारे जानकारी गराइएको थियो। प्रारम्भिक प्रतिवेदनअनुसार दैलेखमा ११२.१ अर्ब घनमिटर मिथेन ग्याँसको भण्डार देखिएको छ।

प्रधानमन्त्री ओलीले एक वर्षभित्र परीक्षण उत्पादन सुरु गर्न निर्देशन दिँदै बजेट र सहजीकरणमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

त्यसैगरी, पूर्वी नवलपरासीमा फलाम खानीको सम्भाव्यता अध्ययन भइरहेको जानकारी पनि प्रधानमन्त्रीलाई दिइएको छ। धौवादी फलाम कम्पनीका अनुसार करिब ९९ मिलियन टन फलाम उत्खनन गर्न सकिनेछ, जुन आगामी सय वर्षका लागि पुग्ने भण्डार हो। कम्पनीले २०८५ सालभित्र फलाम–स्टिल उत्पादन थाल्ने योजना प्रस्तुत गरेको छ।

प्रधानमन्त्रीले २०८५ सालअघि नै उत्पादन सुरु गर्ने गरी तयारी गर्न निर्देशन दिनुभयो। स्रोत, साधन र कानुनी व्यवस्था गर्न सरकार तयार रहेको उहाँले स्पष्ट पार्नुभयो।

छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, उद्योगमन्त्री दामोदर भण्डारी, दैलेखका सांसदलगायत सहभागी थिए।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *