बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

७० वर्षे उमेर हद असफल, चीनमा पनि हटाइयो : प्रधानमन्त्री ओली
काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमा ७० वर्षको उमेर हद अब काम नलाग्ने बताउनुभएको छ। उहाँले यो नियम असफल भइसकेको दाबी गर्नुभयो।
आइतबार त्रिभुवन विश्वविद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो भनाइ राख्नुभएको हो।
युवा पुस्तालाई नेतृत्वमा आउन आग्रह
उहाँले अहिलेका युवा र विद्यार्थीहरूलाई भविष्यको नेता बन्न तयार रहन आग्रह गर्नुभयो। “भोलि आफूलाई नेताको रूपमा, राम्रो विचार भएको नेताको रूपमा, राम्रो संगठकको रूपमा र आन्दोलनको चुम्बकको रूपमा तयार गर्नुहोस्,” उहाँले भन्नुभयो। प्रधानमन्त्री ओलीले आफू एमालेको अध्यक्ष हुनुको कारण आफ्नो लामो आन्दोलनको इतिहास भएको बताउनुभयो। “म २३ सालदेखि युवा र विद्यार्थी संगठनमा लागेको मान्छे हुँ। ६० वर्षको यो यात्रा सधैँ दृढता, सक्रियता र इमानदारीका साथ अगाडि बढेको छ। त्यसैले एमालेले मलाई अध्यक्ष बनाएको हो, अनुहार हेरेर होइन,” उहाँले स्पष्ट पार्नुभयो।
७० वर्षे उमेर हदको औचित्यमाथि प्रश्न
प्रधानमन्त्री ओलीले पार्टीभित्र भ्रम फैलाउनेहरू सक्रिय रहेको भन्दै त्यस्ता कुरामा नअल्मलिन आग्रह गर्नुभयो। उहाँले ७० वर्षको उमेर हद हटाउनुपर्नेमा जोड दिँदै भन्नुभयो, “७० वर्ष उमेर हद फेल खाइसक्यो। अहिले म ७४ वर्षमा चल्दैछु। त्यसैले, उमेरले होइन, स्वास्थ्य र काम गर्ने क्षमताले मुख्य भूमिका खेल्छ।”
उहाँले चीनको कम्युनिष्ट पार्टीले पनि नेतृत्वको आवश्यकता देखेर ६५ वर्षको उमेर हद हटाएको उदाहरण दिनुभयो। “चीनमा दुई पटक मात्र अध्यक्ष वा महासचिव हुन पाउने नियम थियो। तर, सी जिनपिङको निरन्तर नेतृत्वको आवश्यकता देखेपछि चिनियाँ कम्युनिष्ट पार्टीले ७० वर्ष र ६५ वर्षको उमेर हद हटायो,” उहाँले बताउनुभयो।
१३ महिनापछि कांग्रेसलाई नेतृत्व सुम्पने
प्रधानमन्त्री ओलीले अबको १३ महिनापछि नेपाली कांग्रेसलाई सरकारको नेतृत्व सुम्पने जानकारी दिनुभयो। उहाँले कांग्रेससँग भएको सम्झौता अनुसार यसो गरिने र त्यसपछि पनि एमाले सरकारमा सामेल रहने बताउनुभयो। “देशलाई अगाडि बढाउने जिम्मेवारी हाम्रो काँधमा छ। हामीले सुशासन र विकासका लागि काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो।
‘मिसन ८४’ एमालेलाई निर्णायक शक्ति बनाउने लक्ष्य
उहाँले नेकपा (एमाले) को ‘मिसन ८४’ कुनै अस्पष्ट लक्ष्य नभएको बताउनुभयो। “मिसन ८४ भनेको एमाले जस्तो राष्ट्रिय शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्नु हो,” उहाँले भन्नुभयो। उहाँले विरोधीहरूले एमालेविरुद्ध विभिन्न जालझेल गर्न खोज्ने भए पनि आगामी निर्वाचनमा एमाले नै निर्णायक शक्ति बन्ने दाबी गर्नुभयो।
अन्तमा, प्रधानमन्त्री ओलीले आजको बदलिँदो परिस्थितिमा नयाँ पुस्ताले प्रविधिलाई सजिलै बुझ्न पाएको र यस पुस्ताले विकासको गतिलाई प्रविधिमार्फत अगाडि बढाउन सक्ने विश्वास व्यक्त गर्नुभयो।