बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

दलालसँग बिकेर इन्जिनियरद्धारा धमाधम धितोको गलत मूल्यांकन, डुबेपछि इन्जिनियर खोज्दै बैंक !
रुषा थापा
बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिनुपूर्व त्यसका लागि राखिने धितोको मूल्यांकन गर्नुपर्छ । विशेष गरी घरजग्गा, गाडी, सेयर र सुन धितो राखेर कर्जा प्रवाह गर्ने गरिएको छ । यसरी ती वस्तुको मूल्यांकन बैंकले तोकेको व्यक्ति वा सम्बन्धित संस्थाका इन्जिनियरलगायत जिम्मेवार व्यक्तिले गर्छन् । उसैले गरेको मूल्यांकनको आधारमा बैंक, वित्तिय संस्थाले ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्छन् ।
बैंक, वित्तिय संस्थाबाट कर्जा लिने ऋणीको संख्या लाखौं छ । एउटैले पाँच लाख रुपैयाँदेखि अर्बौसम्म कर्जा लिएका छन् । कतिपयले घरजग्गा धितो राखेर ऋण लिएका छन् भने कोहीले भने गाडी, सेयर र सुन धितो राखी । तर, धितो मूल्यांकनमा बैंक, वित्तिय संस्था इन्जिनियरको विश्वास गर्दा नराम्ररी फसेको छ । किनकि दलाली र ऋणीसँग घुस खाएर उनीहरुले गलत मूल्यांकन गरी बैंक, वित्तिय संस्थामा पेश गर्ने गरेका छन् ।
उदाहरणका लागि एक करोड पर्ने घर नभएमा ऋणी र दलालीसँग दश लाखदेखि ५० लाख रुपैयाँसम्म घुस खाएर त्यसको मूल्य दुईदेखि तीन करोडसम्म देखाइन्छ । अनि सोही आधारमा बैंकले कर्जा प्रवाह गर्छ । इन्जिनियरले धितोको मूल्यांकन गरेको ६० देखि ८० प्रतिशतसम्म बैंकले ऋण दिन्छ । अर्थात् तीन करोड मूल्यांकन गरेको भएमा दुईदेखि साढे दुई करोड रुपैयाँसम्म कर्जा प्रवाह गरिन्छ ।
केही दिनअघि काठमाडोंको चावहिलमा भेटिएका नेपाली सेनाका एक पूर्वसैनिकले २०४५ सालमा आफूले शंखमूलमा पाँच आना घडेरी २५ हजार रुपैयाँमा किनेकोमा ६ वर्षअघि आनाकै एक करोड २५ लाख रुपैयाँले बेचेको बताए । जग्गाको मूल्य बढेको पछिल्लो केही वर्षमा हो । पाँच दशकअघि त जग्गाको मूल्य नै थिएन । जग्गा, भूमाफियाहरुले कृत्रिम रुपमा बढाएको जग्गाको मूल्य अहिले फेरि निरन्तर ओरालो लागिरहेको छ ।
तर, बैंक, वित्तिय संस्थाको अधिकांश कर्जा लगानी घरजग्गामै पाइन्छ । त्यसमाथि धितोको मूल्यांकन गर्ने इन्जिनियर ऋणी र दलालीसँग घुसमा बिक्दा बैंकको लगानी बालुवामा पानीसरह भएको छ । इन्जिनियरले घरजग्गाको मूल्यांकन त गयोृ । यद्यपि, त्यसको विगत र भविष्यबारे अनुमान चाँहि गरेन । वर्तमानमा जसरी भविष्यमा पनि घरजग्गाको मूल्य बढिरहन्छ भनेर ऋणीसँग घुस खाएर बैंकमा गलत मूल्यांकन पेश गरिदियो ।
अहिले महँगोमा घरजग्गा किन्ने र त्यसमा लगानी गर्ने बैंक, वित्तिय संस्था चुलुम्मै भएका छन् । बजारमा सुनिन्छ कि, बैंकले ऋणीसँग उठाउनु छ करोड तर धितो बेच्दा त्यसको आधाको आधासमेत आउँदैन । धितोको गलत मूल्यांकन गर्ने इन्जिनियरहरुलाई कारबाही गर्न बैंकहरु कस्सिएका छन् । प्रहरीको उजुरी दिने कि गुण्डागर्दी गरेर पैसा उठाउने ? भन्नेमा बैंकहरु आन्तरिक छलफलमा जुटेका छन् । हुन त बैंक, वित्तिय संस्थाका अध्यक्ष, सञ्चालक, कर्मचारीहरुले पनि घुसै खाएर कर्जा दिएका हुन् ।
एक करोड रुपैयाँ ऋण दिँदा दश लाख रुपैयाँ त घुस खाए । यति मात्र होइन, तीन प्रतिशत सेवाशुल्क अनि १२ प्रतिशत ब्याज भनेर ८० प्रतिशतसम्म असुलेको छ । बैंकबाट घरजग्गा, गाडी, सेयर र सुन धितो राखेर ऋण लिएकाहरु कर्जा तिर्न नसक्ने अवस्थामा पुगेका छन् । ऋण तिर्न सक्दैनौं, बरु धितो लिलाम गर्नू भनेर उनीहरुले भनिरहेका छन् । यता, धितो लिलाम गरेपनि ऋणको आधा रकमसमेत उठ्ने अवस्था छैन ।
जसका कारण बैंक दोहोरो संकटमा परेको छ । व्यक्ति होस् या बैंक, वित्तिय संस्थाहरुले लगानी गर्दा सोचविचार गरेनन् । लहैलहैमा लागेर लगानी गरियो । सबैले घरजग्गा, गाडी र सेयरको मूल्य बढिरहेको मात्र देखे । कसैले यसको विगत र भविष्यबारे सोचेनन् । आज त्यसको परिमाण भोग्दैनन् । अरुको लहैलहैमा लागेर सोचविचार नगर्दाको परिमाण के हुँदो रहेछ ? भनेर अहिले व्यक्तिदेखि बैक, वित्तिय संस्थाहरुले राम्ररी बुझेका छन् ।
२०२२ सालमा सुन प्रतितोला ८० रुपैयाँ थियो भन्ने बुढापाका अझै भेटिन्छन् । केही महिनाअघि सुन तोलाकै एक लाख ९७ हजार तीन सय रुपैयाँ पुग्यो । जबकी सुनको तौल त्यति नै हो । सेयर बैंकले प्रतिकित्ता एक सय रुपैयाँमा निष्काशन गरेको हो । तर, दलालहरुले मूल्य बढाएर ३५ सयदेखि पाँच हजार रुपैयाँसम्ममा सर्वसाधारणलाई बेचे । गाडी फलाम, प्लास्टिक, रबर, कपडा, सिसालगायतबाट बन्दछ ।
यस्ता वस्तु दुई रुपैयाँ किलोमा समेत बिक्दैन । अनि यही वस्तुमार्फत गाडी बनाएर छिमेकी देश भारत र चीनले हामीलाई लाखदेखि करोडौंमा बेचे । यता, जग्गाको मूल्य निरन्तर बढिरहँदा त्यसको न लम्बाई बढेको थियो न चौडाई नै । तैपनि मूल्य आकासिएको थियो । यी सबै वस्तुको मूल्य बढाउने एकै हुन्, त्यो हो दलाली । दलालीहरुले कृत्रिम रुपमा घरजग्गा, गाडी र सेयरको मूल्य बढाए । सुनको अहिले पनि घटबढ चलिरहेकै छ ।
अब फेरि यसमा लगानी गर्ने कति सर्वसाधारण र बैंक, वित्तिय संस्था डुब्ने हो कुन्नि । घरजग्गा, गाडी र सेयरको जतिसुकै मूल्य बढेपनि यो विलासित वस्तु हुन् । निकै जोखिमपूर्ण । किनकि रातारात मूल्य बढेको चिजको फेरि रातारात मूल्य घट्न पनि सक्छ । तर, यस्ता जोखिमपूर्ण वस्तुमा लगानी गर्नुपूर्व व्यक्ति, बैंक, वित्तिय संस्था कसैले पनि सोचविचार गरेनन् । मूल्य बढेकै भरमा दलालीको पछि लागेर लगानी गरियो ।
जग्गाको मूल्य बढेपछि यसमा लगानी गर्नेको त ओइरो लाग्यो नै सँगै सरकारी, सार्वजनिक, ऐलानी, तालपोखरी, ढुंगेधारालगायतको जग्गासमेत व्यक्तिको नाममा लगियो । देशभर ७७ वटा जिल्ला छन् । त्यसमध्ये ७४ जिल्लाबासीले काठमाडौं, ललितपुर र भक्तपुर अर्थात् उपत्यकामा घडेरी किनेका छन् । गाउँको रोपनीका रोपनी जग्गा बाँझो र घरमा ताल्चा झुण्डाएर उनीहरुले यहाँ आनाकै लाखौंमा जग्गा किनेका छन् ।
अधिकांश मासिक हजारौं रकम भाडा तिरेर डेरामा बसिरहेका छन् । पछिल्लो समय घरजग्गा कारोबारमा व्यापक मन्दी छ । यसको मूल्य निरन्तर ओरालो लागिरहेको छ । पाँच वर्षअघि करोडमा किनेको घडेरी अहिले त्यसको आधा मूल्यमा दिन्छुभन्दा समेत नबिकेको अवस्था छ । कारण हो, घरजग्गा पहिलाकै मूल्यमा फर्किँदै जानु । भनिन्छ नि १२ वर्षपछि सुकेको खोलासमेत फर्किन्छ ।
त्यसरी नै घरजग्गाको मूल्य पनि पहिलाकै अवस्थामा फर्किँदैछ । जनता सचेत हुँदै गएका छन् । जसले गर्दा पनि अहिले बजारमा घरजग्गाजस्ता जोखिमपूर्ण क्षेत्रमा लगानी गर्नेहरुको कमी छ । अनि जनताले यस्ता वस्तु नकिनेपछि मूल्य घट्नु स्वभाविक हो । घरजग्गाको मूल्य अझै घट्ने देखिन्छ । त्यसकारण यस्ता वस्तुमा लगानी गर्नुपूर्व सोचविचार गरौं । साथै, बैंकमा भएको आफ्नो बचतबारे सचेत रहौं । किनकि बैंकको पनि लगानी फसेको छर्लंग भइसक्यो ।
दलालीहरुले आफ्नो स्वार्थका निम्ति घरजग्गा, गाडी, सेयर र सुनको मूल्य बढाए । त्यसमा लगानी गर्न लगाई व्यक्ति, बैंक वित्तिय संस्थाहरुलाई त डुबाए नै सँगै इन्जिनियरहरुलाई पनि फसाए । अहिले धितो गलत मूल्यांकन गर्ने ती इन्जिनियरहरु लुकेर बस्नुपर्ने भएको छ । किनकि बाहिर निस्किनासाथ बैंकले समातेर प्रहरीलाई बुझाई हाल्छ ।