भुक्तानीबारे सबैतिर चर्चा, काम र सामानको गुणस्तरबारे सबै मौन !

रुषा थापा 
नेपालीमा एउटा उखान छ, ‘आए आँप, नआए झटारो ।’ अर्थात् रुखमा रहेको आँपलाई झार्न झटारो हान्नैपर्छ । झटारो हान्दा आँप नखसे झटारो नै आउँछ । जनताले तिरेको कर, विदेशीसँग लिएको ऋण र अनुदानसहित रेमिट्यान्स राज्यको ढुकुटीमा जम्मा हुँदै आएको छ । त्यँही करबाट सरकारले विकास निर्माणका काम गर्दछ ।

तर, सरकारी विकास निर्माणका काम गरेबापत भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीहरु बेलाबखत आन्दोलित हुने गरेका छन् । सरकारले उनीहरुको ४५ अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी रहेको बताइन्छ । यद्यपि, अहिले बजारमा कतिपय निर्माण व्यवसायीकै मुखबाट सुनिन्छ, ‘हामीले हाम्रो लगानी उठायौं, अब नाफा दिए लिन्छौं ।’

कोरोना महामारीका समयमा बीमा गराएका अस्पतालहरुको पनि सरकारले १६ अर्ब रुपैयाँ भुक्तानी दिएको छैन । यसमध्ये तीन अर्ब रुपैयाँ भुक्तानीका लागि अर्थ मन्त्रालयले रकम निकासा समेत गरेको छ । तर, बिरामीको औषधीउपचार केही नगरी यी अस्पतालहरुले सरकारसँग भने रकम असुल्न थालेको अधिकांशको आरोप छ ।

दुग्ध र उखु किसानहरुको पनि सरकारले सात अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । भुक्तानी माग्दै उनीहरु पटकपटक सडकमा उत्रिसकेका छन् । सरकारले भुक्ब्तानी नदिएको भन्दै दुधै बाटोमा पोखेरसमेत कतिपयले विरोध जनाए । यसमा अब रोचक कुरा चाँहि सरकारसँग भए नभएको हिसाबकिताब गरेर भुक्तान मागिरहँदा दुधमा पानी वा पाउडर मिसाएर आम सर्वसाधारण ठगेको भने उनीहरु बताउँदैनन् ।

निर्माण व्यवसायी, अस्पताल, दुग्ध, उखु कृषक सबै सरकारसँग बक्यौता मात्रै माग्छन् । तर, आफूहरुले राज्य र जनतालाई ठगेको भने उनीहरु देख्दैनन् । भनिरहन आवश्यक छैन, हामी कहाँ नयाँ सडक बनाएको केही दिन नबित्दै प्वाल पर्ने गरेको छ । नयाँ भवन बनाएको केही समयमै चर्किन थाल्छ । बाढीपहिरोले दुःख दिने भनेर असार पहिलो साता बनाएको पुल बाढी नआउँदै भत्किने वा पानी खोलाले समेत बगाउने गरेको छ ।

अनि सबै गुणस्तरहीन काम गरेर सरकारसँग भने मनलाग्दी भुक्तानी माग्न पाइन्छ ? सरकारले अब भुक्तानी होइन, यीनीहरुलाई कारबाही चाँहि गर्नुपर्छ । किनकि विकास निर्माणमा खर्चिएका अर्बौ–खर्बौ रकम जनताले रगतपसिना बगाई कमाएर तिरेको कर हो । सर्वसाधारणको करको यीनीहरुले चरम दुरुपयोग गरेका छन् ।

हुन त निर्माण व्यवसायीहरुले यस्तो गर्ने हिम्मत बढ्नुमा हाम्रा नेता, कर्मचारीहरुको पनि हात छ । उनीहरुकै सहयोगमा यीनीहरुको मनोबल बढेको हो । नेतालाई चन्दा अनि कर्मचारीलाई घुस दिएपछि जे गर्दा पनि भइहाल्यो । कोरोना महामारीका समयमा सिटामोलको समेत अभाव गराइयो ।

अस्पतालहरुले बिरामीको उपचार गर्नुको साटो असुले मात्रै । बिरामीसँग त असुले नै अहिले सरकारबाट पनि असुल्न लागिपरेका छन् । महामारीका समयमा सरकारले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गर्यो । जसको फाइदा सीमित अस्पतालहरुले उठाए । एक सयको बीमा गराएर दुई–तीन सयको बीमा गरेको देखाएर असुल्न खोजिरहेका छन् ।

दुग्ध कृषकहरुले एक माना दुधमा दुई माना पानी हालेर बेचे । बाच्छा बाच्छीले खाने दुधसमेत बेचे । उपभोक्ताले त्यो दुध चर्को मूल्यमा किनेर खाए । तर, अहिले सरकारले भुक्तानी नदिएपछि भने अनेकौं नौंटकी देखाइरहेका छन् । हिजो उपभोक्तालाई ठगेको उनीहरु सम्झिदैंनन् अनि अहिले राज्यले आफूहरुलाई ठग्यो भन्दै रुवाबासी गर्छन् ।

छिटो नाफा कमाउन निर्माण व्यवसायी, अस्पताल र दुग्ध, उखु किसानहरुले राज्यलाई ठग्न खोजे । यसका लागि नेता, कर्मचारीलाई हातमा लिएर नक्कली बिल बनाउनेदेखि अनेकौं काम गरे । सडकमा उत्रिए । विरोध गरे । यद्यपि, भुक्तानी अझै पाएका छैनन् । किनकि भुक्तानी दिन राज्यसँग पैसा नै छैन । निर्माण व्यवसायी, अस्पताल र दुग्ध, उखु किसानहरुले झटारो त हाने तर त्यो झटारोले काम गर्न सकेन ।

उदाहरणका लागि पाकेको आँपमा झटारो हानेमा तुरुन्तै झर्छ । किनकि त्यो भारी हुन्छ । तर, काँचो आँपमा जति झटारो हानेपनि त्यो खस्दैन । त्यसरी नै रित्तिएको ढुकुटीमा जतिसुकै झटारो हानेपनि पैसा आउने छैन । निर्माण व्यवसायीहरुले भुक्तानी पाउन हरेक अर्थमन्त्रीसँग लबिङ गरे । डा.प्रकाशरण महतदेखि वर्षमान पुन र वर्तमान अर्थमन्त्री विष्णु पौडेलसँग विदेशीसँग ऋण लिएर भुक्तानी दिन सुझाए ।

भुक्तानी पाएमा आफूहरु मन्त्रीको पार्टीमा प्रवेश गर्नेसमेत बताए । यतिसम्म कि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि पटकपटक भेटेर यही कुरा दोहोर्याए । यद्यपि, उनीहरुको योजना पूरा भएको छैन । र, हुँदैन पनि । यता, मन्त्री, प्रधानमन्त्रीसँग जतिसुकै लबिङ गरेपनि केही सीप नलागेपछि आन्दोलनको समेत घोषणा गरे ।

आन्दोलनको घोषणापछि प्रधानमन्त्री ओलीले महासंघका अध्यक्षलाई बालुवाटार बोलाएर अर्को पटक चुनावमा टिकट दिने वा राजदूतमा नियुक्त गरिदिने आश्वासन दिएको बताइन्छ । त्यसपछि महासंघले आन्दोलन फिर्ता लिएको हो । यदि निर्माण व्यवसायीहरुको पैसा साँच्चिकै फसेको हो भने उनीहरुले आन्दोलन चर्काउन्थे ।

अस्पताल र दुग्ध, उखु किसानहरुले पनि आन्दोलन चर्काउन्थे । तर, उनीहरुले आन्दोलन गरेनन् । किनकि आफ्नो फसेको पैसा उनीहरुले उठाइसके । अब नाफा मात्र उठाउन बाँकी छ । अनि नाफा उठाउन सानातिना आन्दोलन घोषणा गरेर सरकारलाई तर्साउने काम यीनीहरुले गरिरहेका छन् । यहाँ सबैलाई राज्यको ढुकुटी चुस्नु छ ।

राज्यको ढुकुटीमा भएको पैसा कसरी खान सकिन्छ ? भन्ने चासो मात्र जनप्रतिनिधिदेखि कर्मचारी र व्यवसायीहरुलाई छ । राज्यलाई योजनाबद्ध रुपमा ठग्न खोजियो । तर, जनताले कर नतिर्दा, विदेशीले ऋण र अनुदान रोक्दा उनीहरुले सफल हुन नसकेका हुन् । अहिले राज्य कंगाल छ । त्यसैले, अब जतिसुकै योजना बनाएपनि राज्यलाई ठग्न सकिँदैन ।
ह्ुन त यहाँ एकलाई ठगेर अर्को धनी बनेका छन् । चाँहे त्यो सरकारमा बसेकाहरु हुन् या आम सर्वसाधारण ।

एउटालाई नठगी अर्को उधो नलाग्ने देश बनिसकेको छ, हाम्रो । यसैको सिको निर्माण व्यवसायी, अस्पताल, दुग्ध र उखु किसानहरुले पनि गर्नु कुनै नौलो भएन । नौलो कुरा चाँहि के हो भने यीनीहरुले नक्कली बिल बनाएर राज्यलाई ठग्न निरन्तर कोशिस गरिरहँदा सबै चुपचाप छन् ।

कसैले पनि यसबारे थाहा नपाएका हुन् कि थाहा पाएर पनि मुख बन्द गरेका हुन् ? यो पनि विस्तारै बाहिर आउनै छ । सरकारमा बसेकाहरुले पनि जनताले तिरेको कर, रेमिट्यान्स र विदेशी ऋण, अनुदानमा मोजमस्ती गरेका छन् । यसैले, यीनीहरु पनि ठगभन्दा केही फरक छैनन् । अर्को कुरा चाँहि अब जनताले यीनीहरुमाथि विश्वास गर्ने छैनन् । जनताको विश्वास एक–दुई पटक मात्र नभई बारम्बार यीनीहरुले तोडेका छन् ।

जनताको विश्वास नभएमा सरकार टिक्न गाह्रो हुन्छ । जहाँ विश्वास हुँदैन, त्यहाँ काम गर्न सकिँदैन । अनि जनताको विश्वास गुमाएपछि सरोकारवालाहरुले कसरी काम गर्लान् । कामै नगरी पनि बस्न सकिन्छ । तर, जनताले कर नै नतिरिदिए उनीहरु कसरी बस्न सक्छन् ? अझै पनि समय छ, जनतामाथि विश्वास टिकाइराख्ने । यसबारे सोचियोस् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *