काठमाडौंमा आज वायु प्रदूषण उच्च ,साँझसम्मै बढ्ने

काठमाडौँ । काठमाडौंमा आज वायु प्रदूषण उच्च छ । वातावरण विभागका अनुसार बिहीबार ११ः३० बजे उपत्यकाका तीन स्थानको वायुको गुणस्तर ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) १५० भन्दा माथि छ ।

सबैभन्दा धेरै शखपार्कमा एक्यूआई १८३ पुगेको छ । त्यहाँको पीएम (पर्टिकुलेट म्याटर) २.५ को मात्रा बढेर ११२.८ माइक्रोग्राम प्रतिघनमिटर पुगेको विभागको रेकर्ड छ ।

सोही समयमा काठमाडौंको रत्नपर्क र लतिलपुरको खुमलटारमा पनि वायु प्रदूषणको तह अस्वस्थकर छ । ती स्थानको एक्यूआई क्रमशः १७१ र १५७ छ । उपत्यकाबाहिर धनकुटाको वायु अस्वस्थकर छ । त्यहाँ एक्यूआई १५३ र पीएम २.५ को मात्रा ६४.६ पुगेको छ ।

काठमाडौंमा आज साँझ ६ बजेसम्म नै वायु प्रदूषण बढ्ने विभागको पूर्वानुमान छ । साँझ ८ बजे काठमाडौंमा पीएम २.५ को औसत मात्रा ८४.२८३ पुग्नसक्ने विभागले जनाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड अनुसार यी स्थान ‘अस्वस्थकर’को सूचीमा परेका छन् । वायुको गुणस्तर मापदण्ड अनुसार एक्यूआई १५० भन्दा माथि रहेको वायु अस्वस्थकर मानिन्छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति घातक मानिन्छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *