कहाँ हुन्छ जबर्जस्ती करणीका सबैभन्दा धेरै घटना ?

काठमाडाैं । जबर्जस्ती करणी र आत्महत्याका सबैभन्दा धेरै घटना कोशी प्रदेशमा भएको नेपाल प्रहरीको अध्ययनले देखाएको छ।

प्रहरी प्रधान कार्यालयले बुधबार पत्रकार सम्मेलन गरी चालू आर्थिक वर्षको पहिलो चार महीनामा भएका घटनाको तथ्यांक सार्वजनिक गरेको छ। साउनदेखि कात्तिकसम्म सबैभन्दा धेरै कोशी प्रदेशमा आत्महत्या र जबर्जस्ती करणीका घटना दर्ता भएको प्रहरी प्रवक्ता विश्व अधिकारीले बताए।

देशभर साउनदेखि कात्तिकसम्म ८२३ वटा जबर्जस्ती करणीका घटना दर्ता भएका छन्। यसमध्ये सबैभन्दा बढी कोशी प्रदेशमा १९५ वटा जबर्जस्ती करणीका घटना भएका छन्।

त्यस्तै, मधेश प्रदेशमा ८८, बागमती प्रदेशमा ८१, लुम्बिनी प्रदेशमा १४४, कर्णाली प्रदेशमा ६० र सुदूरपश्चिममा ६६ वटा घटना दर्ता भएका छन्। सबैभन्दा कम गण्डकी प्रदेशमा ६५ वटा घटना भएका छन्। काठमाडौं उपत्यकामा मात्रै १२४ घटना भएको प्रहरीको तथ्यांक छ।

यसैगरी, सबैभन्दा धेरै आत्महत्याका घटना पनि कोशी प्रदेशमै भएको देखिएको छ। साउनदेखि कात्तिकसम्म कोशी प्रदेशमा ४८३ वटा आत्महत्याका घटना भएका छन्।

त्यस्तै, मधेश प्रदेशमा ३९२, बागमतीमा २८६, गण्डकीमा २०३, लुम्बिनीमा ४३३, कर्णालीमा १०४ र सुदूरपश्चिममा १७४ घटना भएका छन्। त्यस्तै, काठमाडौं उपत्यकामा मात्रै १६१ वटा घटना भएका छन्।

प्रहरीको तथ्यांक अनुसार साउनदेखि कात्तिकसम्म १९ हजार ४९८ मुद्दा दर्ता गरिएका छन्। गत वर्षको यही अवधिमा १८ हजार ९९८ मुद्दा दर्ता भएका थिए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *