एमाले लुम्बिनीको अध्यक्षमा कँडेल निर्वाचित

बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन्।

आफ्ना निकटतम प्रतिस्पर्धी हरि रिजाललाई दुई मतले पछि पार्दै कँडेल दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन्।

कँडेलले ४७९ मत ल्याउँदा रिजालले ४७७ मत प्राप्त गरे। कँडेल एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल खेमाका हुन् भने रिजाल महासचिव पोखरेल खेमाका हुन्।

सोमबार दिनभर एमाले नेताहरूले सहमतिको प्रयास गरे पनि रिजाल र कँडेल पछि नहटेपछि निर्वाचन तय भएको थियो। त्यसपछि दुवै जना प्यानल सहित निर्वाचनमा उत्रिएका थिए।

यस्तै, प्रदेश उपाध्यक्षमा भने भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन्। उनले ४४५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी विश्वराज बरालले ३०६ मत मात्र ल्याउन सके।

यसैगरी, उपमहासचिवमा पूर्ण बुढा मगर ४१८ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी दुर्गाप्रसाद चौधरीले ३९३ मत प्राप्त गरेका थिए।

प्रदेशको महिला उपमहासचिवमा तिला राना मगर निर्वाचित भइन्। उनले प्रतिस्पर्धी वसन्ती अधिकारीलाई एक मतले पछि पारेकी हुन्।मगरले ३५२ मत प्राप्त गर्दा पौडेलले ३५१ मत प्राप्त गरेकी थिइन्।

सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *