यस वर्षकाे ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार’ लक्ष्मी कुँवरलाई प्रदान गरिने

काठमाडाैं । नेपाल सहभागीमूलक कार्य समूह (नेपान) ले २०८० सालको ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार’ श्री लक्ष्मी कुँवरलाई प्रदान गर्ने भएको छ । गुल्मीको रूरू गाउँपालिका–२ की ३५ वर्षीया कुँवर १८ वर्षको उमेरमा दुर्घटनामा परी विगत १७ वर्षदेखि मेरुदण्ड पक्षघातका कारण ह्विलचेयर प्रयोग गर्दै अत्यन्त सक्रियताका साथ प्याराओलम्पिक खेल प्रवद्र्धन तथा अपाङ्गता भएका व्यक्तिहरूको जीवन उत्थान एवम् स्वावलम्बनका लागि दौँतरी परामर्शमार्फत् ऊर्जा र प्रेरणा प्रदान गर्दै आउनुभएको छ ।

कुशल पौडीवाजको रूपमा चिनिनु हुने उहाँ अपाङ्गता अधिकारका लागि पैरवी कार्यमा समेत उदाहरणीय रूपमा निरन्तर लागिरहनु भएको छ । विभिन्न पुरस्कार तथा सम्मानहरूबाट समेत सम्मानित समाजशास्त्रमा स्नातक लक्ष्मी कुँवर हाल कम्युनिटी एक्सन नेपाल तथा स्वावलम्बन जीवन पद्धति केन्द्रजस्ता संस्थाहरूसँग आबद्ध हुनुहुन्छ ।

पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ । स्मरणीय छ, नेपानका पूर्व अध्यक्ष स्व. डा. भोला दाहालको अमूल्य योगदानको सम्मान गर्दै नेपान सदस्यहरू तथा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसनको एमफिल तह (२०१६–१८ ब्याच) मा अध्ययनरत केही विद्यार्थीहरूको व्यक्तिगत सहयोगको आधारमा रु. २ लाख रुपैयाँको अक्षयकोष राखी त्यसको ब्याजबाट पुरस्कार प्रदान गर्नेगरी नेपानमा २०७८ सालमा स्थापित ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार’ पहिलोपटक २०७९ सालमा चितवनका विकासकर्मी विश्वास प्रजा (चेपाङ) लाई प्रदान गरिएको थियो ।

यस वर्षको पुरस्कार प्रदान गर्ने कार्यक्रम यही भदौ २३ गते शनिवार नेपानको २९औं वार्षिक साधारणसभाको अवसर पारेर पुल्चोक ललितपुरमा हुनेभएको छ । सोही दिन १० हजार राशिको ‘प्रसिद्ध कणेल विकास लेखन पुरस्कार–२०८०’ बाट स्थापित लेखिका डा. अरुणा उप्रेतीलाई पनि सम्मान गरिने कार्यक्रमको पहिले नै घोषणा भइसकेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *