काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
गान्धीका अनुयायी गिरिलाई सम्झँदा
जगत नेपाल
काठमाडौँ । राजनीतिमा लाग्नेहरु गर्वका साथ भन्ने गर्छन् जोगी बन्न पनि कसैले राजनीति गर्दैन । समाजसेवाको पवित्र क्षेत्र राजनीति, हिजोआज सत्ता र शक्तिमार्फत आयआर्जन गर्ने सबैभन्दा आकर्षक पेशामा रुपान्तरण भएको छ । प्रजातान्त्रिक संस्कारको अभ्यास गर्ने थलोका रुपमा रहेका राजनीतिक दलहरु प्रभावकारी हुन सकिरहेका छैनन् भनने आम जनगुनासो छ । यस्तोमा सबैखाले विचारधारामा विश्वास गर्नेहरु आजको राजनीतिमा नेपाली कांग्रेसका नेता तथा प्रख्यात बुद्धिजीवी प्रदीप गिरिको अभाव महसुस गरिरहेका छन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा पाँच दशकभन्दा लामो समय योगदान गरेका गिरि आफ्ना गुरु बिपी कोइरालासँग घण्टौँ बहस गर्नसक्ने सीमित व्यक्तिमध्येका एक थिए । बिपीसँग वहसमा उत्रिने मात्र होइन, कतिपय अवस्थामा उनको तीखो आलोचन गर्ने क्षमता राख्थे । गिरिले आफ्नो सैद्धान्तिक अडानमा कहिल्यै सम्झौता गरेनन् । गान्धीको विचारबाट प्रभावित उनले हिंसाको राजनीतिलाई स्वीकार गरेनन् । आफ्नै नेता बिपी कोइरालाले निरङ्कुश राजतन्त्रविरुद्ध चलाएको सशस्त्र क्रान्तिलाई समेत समर्थन नगर्नेहरुमा गिरि पनि एक थिए ।
विद्यार्थी कालमा उनी लेखक, प्राध्यापक वा वुद्धिजीवी बन्न चाहन्थे । पछिसम्म पनि रातभरि पुस्तक पढ्ने मध्यन्ह्सम्म सुत्ने उनको दैनिकी कायमै थियो । सत्ता र शक्तिका लागि साम, दाम, दण्ड, भेदको प्रयोग गर्नु पर्छ भन्ने मान्यताका विरोधी गिरि आचरणका दृष्टिले उच्चकोटीका बुद्धिजवी थिए । नेपाली समाजमा उनको छवि नेता कम, बुद्धिजीवी बढी भन्ने नै रहेको छ । उनले पदलाई कहिल्यै महत्व दिएनन् । उनी नेपाली कांग्रेसमा केन्द्रीय सदस्यभन्दा माथिल्लो पदमा रहेनन्, संसदीय राजनीतिमा सांसदमै सीमित रहे । मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री बन्ने अवसर पटकपटक आउँदा पनि उनी त्यो बाटोमा लागेनन् ।
गिरि जीवनमा चार पटक संसद सदस्य बने । दुई पटक प्रतिनिधिसभा सदस्यका रुपमा र दुई पटक संविधानसभा सदस्यका रुपमा । उनले कैयौं सहकर्मी र सहयात्रीलाई मन्त्री बनाए । तर आफै चाहीँ कहिल्यै मन्त्री भएनन् । मन्त्री बन्न गरिएका प्रस्तावलाई कहिल्यै स्वीकार गरेनन् । पाँच÷सात वर्षअघिको कुरा हो, मिति याद छैन । एक दिन पत्रकार देवप्रकाश त्रिपाठीलाई भेट्न घटना र विचार साप्ताहिकको कार्यालय पुगेको थिएँ । संयोगले पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग भेट भयो । त्यस दिन हामीले धेरै विषयमा कुरा ग¥यौं । प्रदिप गिरिकै गृह जिल्ला सिराहा निवासी आर्यालले उनका बारेमा सुनाएको एउटा प्रसङ्ग मेरो मानसपटलमा सधैँ आइरहन्छ ।
गिरि किन मन्त्री बन्न चाहँदैनन् भन्ने मेरो जिज्ञासामा अर्यालले आफ्नो अनुभव यसरी सुनाएका थिए– २०५६ को आम निर्वाचनपछिको कुरा हो । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईले जननिर्वाचित प्रधानमन्त्रीका रुपमा शपथ लिएको धेरै भएको थिएन । अर्यालले कथा सुनाउन थाले, ती दिन म प्रहरी महानिरीक्षकको निजी सचिवालयमा थिएँ । जिल्लावासी भएकाले प्रदिप दाइसँग हाम्रो नियमितजसो भेटघाट भैरहन्थ्यो । एक दिनको कुरा हो, फोनमा प्रदिप दाइ भन्दै हुनुहुन्थ्यो– त्यो जिम्मेवारी पूर्णजीलाई दिए भैहाल्यो नि । पछि मैले सोधेँ । दाइ कसको फोन थियो, पूर्णजीलाई के बनाउनु भन्नु भएको ? दाइले सुनाउनु भयो– किसुनजीले फोन गर्नु भएको । गृहमन्त्री कसलाई बनाउने भनेर सोध्दै हुनुहुन्थ्यो । मैले पूर्णबहादुर खड्काजीलाई बनाई दिनोस् भनेँ । केही समयपछि उहाँ नै गृहमन्त्रीमा नियुक्त हुनुभयो ।
उपेन्द्रकान्त अर्को प्रसङ्ग जोड्दै हुनुहुन्थ्योे, त्यसको केही दिनपछि फेरि प्रदिप दाइले भन्नुभयो– ए उपेन्द्र सुन न, नेपाल प्रहरीले हतियार किन्न लागेको रहेछ । कसैले मलाई त्यो बोलपत्र मिलाई दिनुप¥यो भनेर हैरानै पारि सक्यो । ल न तिमी आइजिपीलाई भनेर उसको काम गराई दिन सक्छौ भने गराई देऊ न । दाइको कुरा सुनेर म छक्क परेँ । अचम्म पनि लाग्यो । गृहमन्त्री बनाउन सक्ने मानिस, आइजिपीको सचिवालयमा काम गरिरहेको म बबुरो डिएसपीलाई हतियार किन्ने व्यवस्था मिलाई दिन किन भन्नु भएको होला । मैले भनेँ– के कुरा गरेको प्रदिप दाइ तपाइँको सिफारिसमा गृहमन्त्री बनेका छन् । हतियार किन्ने कुरा उनैसँग गरे भैहाल्यो नि मैले भनेको कसले सुन्छ र ? मेरो त्यो हैसियत कहाँ हो र ? मैले भनेँ– त्यसो भए तपाइँ आफैँ मन्त्री किन बन्नु हुन्न त । बने भैहाल्यो नि । अरुलाई बनाउनुको साटो आफँै हुनुस् । जनताको काम गर्नुस् ।
अरे बाफरे बाफ त्यस्तो कुरा नगर म त जीवनमा कहिल्यै मन्त्री हुन्न, तिमीलाई थाहै छ म मेरो बानी । म मनमौजी मानिस । कहिले रातभरि पढेर दिनभरि सुतिदिन्छु । मन लागे नेता कार्यकर्ता भेट्छु, मन नलागे भेट्दिन । नेताका ढोका ढोका चाहार्ने बानी छैन मेरो । फेरि जहाँ गए पनि बिहान नित्य स्नान गर्ने र नयाँ कपडा फेर्ने बानी छ । हरेक दिन स्नान गरेपछि लगाएको कपडा नधोई लगाउँदिन । कसै न कसैसँग पाँच सय–हजार मागेर कमिज, सुरुवाल किन्न लगाउँछु । नयाँ कपडा लगाएर निस्कन्छु, पुरानो त्यहीँ छोडिदिन्छु । जीवनमा मेरो लागि लगानी गर्ने कति भए होलान् कति । भोलि तिनले म मन्त्री भएको थाहा पाए भने आफ्नो लगानीको ब्याज र ब्याजको स्याज असुल गर्न खोज्छन् । उनीहरुका सबै माग पूरा गर्ने क्षमता मसँग छैन नि । सिद्धान्त र निष्ठाको लागि राजनीति गरेको मानिस मन्त्री भएँ भने भ्रष्ट बनाइहाल्छन् । बुझ्यौ त्यसैले पनि मैले जीवनमा मन्त्री नबन्ने प्रण गरेको छु ।
आफूले गरेका बाचा उहाँले जीवनभर पूरा गर्नुभयो । कति सहकर्मीलाई मन्त्री बनाउनुभयो । तर आफू भने कहिल्यै मन्त्री हुनु भएन । संसदमा रहँदा होस्, वा नरहँदा निष्ठा र आदर्शको राजनीतिक दियो जलाएर बस्नुभयो । अन्तरआत्माको आवाज बोल्नुभयो । आफ्नो आस्थालाई बन्धक बनाएर पार्टीको आदेश पालना मात्र गर्नु भएन । २०७२ असोज ३ गते संविधानसभाले जारी गरेको संविधानमा हस्ताक्षर समेत गर्नु भएन । नेपालका अधिकांश नेताहरु जोखिम मोल्न चाहँदैनन्, सस्तो लोकप्रियतामा रमाउन चाहन्छन् । गिरिले सधैँ नेतृत्वको गलत काम कारवाही माथि औंला उठाइरहे । पार्टीभित्र स्थायी प्रतिपक्षको भूमिका निर्वाह गर्न रुचाए । संसदीय राजनीतिमा दलको ह्वीप मान्नु सांसदको कर्तव्य नै हो तर गिरि यस्ता अपवाद थिए जो अन्र्तआत्माको आवाज सुनेर निर्णय गर्न सक्थे । उनको जीवनमा गान्धीको प्रभाव बढी नै परेको देखिन्थ्यो ।
महात्मा गान्धीले– सिद्धान्तविहीन राजनीति, श्रमविहीन सम्पत्ति, विवेकविहीन भोगविलास, चरित्रविहीन शिक्षा, नैतिकताविहीन व्यापार, मानवियताविहीन विज्ञापन, त्यागविहीन पूजालाई सात पाप भनेका छन् । गान्धीका अनुयायी गिरिले उनका यिनै सिद्धान्तलाई जीवनशैली बनाए । चुनाव जित्नका लागि आश्वासन बाँडेनन् । झुट्टा कुरा गरेर चुनाव जित्ने लालसा कहिल्यै आएन । गिरिका निकटस्थहरु सुनाउँछन्, बरु जागिर माग्ने र लाभ लागि अवसर मिलाई दिन आग्रह गर्ने आफ्नै कार्यकर्ता र अनुयायीको चित्त दुखाउने गाली गरेर दिन बिताए । आदर्श राजनीतिमा विश्वास गर्नेहरुका लागि आफैँमा एउटा विश्वविद्यालय सरह थिए गिरि । (लेखक पत्रकारिता तथा आमसञ्चारका अध्यापक तथा सक्रिय पत्रकार हुनुहुन्छ)