काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
रसुवागढीमा चहलपहल बढ्यो
रसुवा । चीनसित जोडिएको रसुवागढी नाकामा चहलपहल बढ्दै गएको छ। कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि सञ्चालनमा आएपछि व्यापार तथा पर्यटकीय गतिविधि बढेको हो।
सो नाका भएर नेपाल घुम्नका लागि चिनियाँ पर्यटकको आगमन शुरू भएको छ। नेपाल भित्रने चिनियाँ पर्यटकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। अध्यागमन कार्यालय टिमुरेका प्रमुख चूडामणि अर्यालका अनुसार गत चैत १८ देखि असार मसान्तसम्म दुई हजार ८३७ चिनियाँ पर्यटक रसुवागढी नाका भएर नेपाल भित्रिएका छन्।
तीन महिनामा रसुवागढी नाकाबाट ४६ देशका नागरिक नेपाल भित्रिएको तथ्यांक छ। सो अवधिमा पाँच हजार २३६ महिलासहित १० हजार ६७७ पर्यटक उक्त नाका भएर नेपाल भित्रिएको अर्यालले बताए।
कोरोना अवधिभर सुनसान रहेको रसुवागढी क्षेत्रबाट चिनियाँ पर्यटक नेपाल भित्रने र अन्य देशका पर्यटक चीनतर्फ प्रस्थान गर्न थालेपछि चहलपहल बढेको छ। पर्यटकको आगमनले सीमा क्षेत्रका बासिन्दामा उत्साह थपिएको छ। रसुवागढी नाकाबाट रसुवाका बासिन्दा केरुङतर्फ जाने र चिनियाँ नागरिक पनि टिमुरे तथा स्याफ्रुबेँसी घुम्न आउने गरेका छन्।
रसुवा–केरुङ ओहोरदोहोर गर्न अध्यागमन कार्यालय टिमुरेले रसुवाका १५० जना नागरिकलाई परिचयपत्र प्रदान गरेको छ।