काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
शिक्षक,कर्मचारी र जनप्रतिनिधिले छोराछोरी सरकारी स्कुलमै पढाउनुपर्ने
पाँचथर । मिक्लाजुङ गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिसँगै शिक्षक र कर्मचारीले अब आफ्ना छोराछोरी सामुदायिक स्कुलमै पढाउनुपर्ने भएको छ । गाउँ कार्यपालिकाले पारित गरेको शिक्षा ऐन लागू भएसँगै यो व्यवस्था स्वतः लागू हुने भएको हो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न यो नियम अनिवार्य गरिएको गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताए ।सरकारी कार्यालयमा जागिर खाएर छोराछोरी निजी बोर्डिङमा पढाउँदा शिक्षक र कर्मचारीमा जिम्मेवारी बोध नहुने भएकाले यस्तो नियम बनाइएको उनले सुनाए ।
योसँगै गाउँ कार्यपालिकादेखि वडा तहका सबै पदमा निर्वाचित जनप्रतिनिधिले पनि आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने व्यवस्था शिक्षा ऐनले गरेको छ ।
पालिकाले तयार गरेको शिक्षा ऐन २०७९ को दफा (२२) मा यो व्यवस्था गरिएको छ । शैक्षिक सत्र २०८० देखि यो व्यवस्था अनिवार्य हुने गाउँपालिकाले जनाएको छ ।