नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

समानुपातिकमा केही पार्टीको मत वृद्धि अस्वाभाविक: ओली
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक मतगणनामा प्रश्न उठाएका छन्। उनले केही पार्टीको मत वृद्धि अस्वाभाविक भइरहेको बताएका छन्। शनिबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले उक्त कुरा बताएका हुन्।
‘सुरू देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ,’ उनले भनेका छन्, ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता गलत कार्य पनि हुनसक्छ।’
उनले जिल्लामा मतगणनास्थलमा रहेका कार्यकर्ताहरूलाई चनाखो हुन पनि भनेका छन्। साथै मतगणनामा प्रतिनिधि रहेकाले मत परिणामको मुचुल्काको प्रति फेसबुकमा म्यासेज गर्न पनि अनुरोध गरेका छन्।
‘मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु,’ उनले लेखेका छन्।
निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ।
आयोगले साँझ ५ बजेर ४० मिनेटसम्म उपलब्ध गराएको विवरणअनुसार कूल ४७ राजनीतिक दलले प्राप्त गरेको मत गणना गरेको हो।
समानुपातिक निर्वाचन प्रणालीमार्फत कूल एक सय १० प्रतिनिधिसभा सदस्य चुनिने संवैधानिक व्यवस्था छ।
त्यसमा सबैभन्दा बढी नेकपा(एमाले)ले २० लाख ८९ हजार ७२ मत प्राप्त गरेको छ।
दोस्रोमा रहेको नेपाली कांग्रेसले २० लाख १६ हजार छ सय २५ मत प्राप्त गरेको छ।
तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र) ले आठ लाख ९१ हजार आठ सय आठ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले आठ लाख ५४ हजार आठ सय ७१ मत प्राप्त गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ५८ हजार चार सय ५९ मत, जनता समाजवादी पार्टीले दुई लाख ४८ हजार नौ सय ६८ मत, नेकपा (एकीकृत समाजवादी) ले एक लाख ९३ हजार नौ सय ६४ मत, जनमत पार्टीले एक लाख ७८ हजार दुई सय ३२ मत, नागरिक उन्मुक्ति पार्टीले एक लाख ७५ हजार आठ सय ५९ मत, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख चार हजार तीन सय ४९ मत, नेपाल मजदुर किसान पार्टीले ६८ हजार तीन सय आठ मत प्राप्त गरेका छन्।