काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
ताजा जनादेश : नेकपा-जनसभाको सन्देश
प्रकाश सिलवाल/शरद शर्मा
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा जनसभा आयोजना गरी ताजा जनादेशका लागि निर्वाचनको तयारीमा जुट्न सन्देश दिएको छ । सभामा शीर्ष नेताले अब निर्वाचनले मुलुकको फैसला गर्ने भन्दै मुलुक निर्वाचनउन्मुख भएको बताउनुभएको छ । नेकपाको बागमती प्रदेश कमिटीले नारायणहिटी दरबार सङ्ग्रहालयको अगाडिको सडकमा आयोजना गरेको सभामा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका सचिवालय सदस्यद्वय उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालगायत नेताले मुलुकको समृद्धि र स्थायित्वका लागि ताजा जनादेशको विकल्प नभएकाले मुलुक निर्वाचनमा होमिएको बताउनुभएको हो । सभामा सहभागी हुन यस प्रदेशका १३ जिल्लाका साथै देशभरिबाट नेकपाका नेता कार्यकर्ता आएका थिए ।
गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले निर्वाचनको विरोधमा कार्यक्रम गर्दै आएकामा आज नेकपाले निर्वाचनका पक्षमा प्रदर्शन गरेको हो । सभा शुरु हुनुभन्दा अगाडि काठमाडौँका विभिन्न १६ ठाउँबाट विविभ भेषभूषासहित झाँकीसहित ¥याली निकालिएको थियो । मुलुक ताजा जनादेशमा जाने भनेपछि नेकपाको सभामा स्वतःस्फूर्त रुपमा अन्य पार्टी समर्थित मानिसको पनि सहभागिता रहेको आयोजकले जनाएको छ । आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकिएको छ ।
प्रदर्शनमा ‘कम्युनिष्ट आन्दोलनको रक्षा गरौं ः विसर्जनवाद र अवसरवादको विरोध गरौँ, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ’, ‘नेपाली जनता के भन्छ ः केपी ओली ले भन्छ’, ‘आज होइन भोलिलाई ः १० वर्ष ओलीलाई’, ‘जनता हामी जाग्दैछौँ ः निर्वाचनमा लाग्दैछौँ’, ‘समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा ः पूरा गर्छौँ, पूरा गर्छौँ’ जस्ता नारा लगाइएका थिए ।
“अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश” भन्ने नाराका साथ भएको सभामा राष्ट्रिय झण्डा र नेकपाको चुनाव चिह्न सूर्य फहराउँदै बेलुन उडाइएको थियो ।
सभास्थलमा प्रधानमन्त्री ओली आउनुभएको उद्घोष कार्यक्रम सञ्चालक वाग्मती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले गरेसँगै ओलीले मञ्चमा उभिएर हात हल्लाउँदा सहभागीले समेत हात हल्लाउँदै स्वागत गरेका थिए । सभामा सुभाषकुमार श्रेष्ठले बनाएको प्रधानमन्त्री ओलीको चित्र नेकपाका युवा नेता महेश बस्नेतले हस्तान्तरण गर्नुभएको थियो ।
प्रदेशका अध्यक्ष पोखरेलले पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गरिएको बताउनुभयो । कार्यक्रममा प्रिया भण्डारी र बैकुण्ठ महतले ‘ेकपा एकता कायम राख्न ‘एकता तोडेर नजाउ साथी हो र अभियान छोडेर नजाउ साथी हो’ भन्ने गीत प्रस्तुत गर्नुभएको थियो । उक्त गीतले सहभागीलाई मनोरञ्जन दिँदै नेकपा एकताको पक्षमा लाग्न सन्देश दिएको थियो । सहभागीहरु नेकपाको झण्डा र चुनाव चिह्नसँगै नाँचेका थिए । सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले हात उठाएर मुलुक अगाडि बढेको सन्देश दिनका लागि विभिन्न ठाउँमा राखिएको तस्विरमा नेता कार्यकर्ता झुम्मिएका थिए । सभा हेर्नका लागि केशरमहल, जयनेपाल हल अगाडि र घण्टाघरसम्म मानिसहरु क्रमबद्धरुपमा बसेका रहेका थिए । कार्यक्रम सकिएपछि स्वयंसेवकले कार्यक्रमस्थल सरसफाइ गरेका थिए भने सभास्थल भन्दा अन्य क्षेत्रमा सवारी आवागमनमा कुनै अवरोध गरिएको थिएन ।
आयोजक बागमती प्रदेश कमिटीका सचिव खेमप्रसाद लोहनीले जनसभा अपेक्षकृतरुपमा सफल भएको जनाउँदै मुलुकमा राजनीतिकरुपमा देखिएको अन्योललाई चिर्ने काम यसले गरेको बताउनुभयो । रासससँग कुरा गर्दै सचिव लोहनीले जनतालाई अन्योल र अस्थिरतामा होइन, स्थिरताका लागि निर्वाचनमा जानुपर्छ भन्ने ठोस प्रमाण जनसभाले दिएको तथा पार्टीभित्र विवाद भए पनि जनताको समर्थन ओलीको नेतृत्वका पक्षलाई छ भन्नेतर्फ सभाले स्पष्ट सन्देश दिएको जनाउनुभयो । उहाँले भन्नुभयो, “सभामा हामीले सोचेजति सहभागिता भएको पाइयो । बिहीबार दाहाल नेपाल समूहका आम हड्तालका कारण कतिपय टाढा टाढा रहेका जिल्लाबाट मानिसहरु आउन सक्ेनन् तर यो सभा ऐतिहासिक र सफल रहेको हाम्रो मूल्याङ्कन छ ।”
सभा सम्पन्न गर्न काठमाडौँ उपत्यकाका संयोजक कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरेको थियो । पार्टीका २१ वटै जनसङ्गठनले प्रदर्शनमा भाग लिएका थिए । नेकपाले यस्तै आमसभा आगामी फागुन १ गते लुम्बिनी प्रदेशको बुटवल र फागुन ८ गते प्रदेश नं. १ को विराटनगरमा गर्ने जनाएको छ ।