सार्वजनिक यातायात सञ्चालन हुने, बढ्याे ५० प्रतिशत भाडा

काठमाडौँ । सरकारले सार्वजनिक यातायात सुचारु गर्न दिने निर्णय गरेको छ । सार्वजनिक यातायात सञ्चालनपूर्व सुरक्षा मापदण्ड पूरा गर्नुपर्नेछ ।

सरकारका प्रवक्ता एवम् अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाको मापदण्ड पूरा गरेर सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँले ट्याक्सीमा बढीमा दुई र परिवारका सदस्यहरू मात्रै बस्ने भए सिट क्षमताबमोजिम बस्न पाउने गरी खुकुलो गरिएको बताउनुभयो । त्यसैगरी, छोटो दूरीका सार्वजनिक यातायात सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाउने उहाँले जानकारी दिनुभयो । जसबमोजिम काठमाडौँ उपत्यकाको तीन जिल्लामा मात्रै सार्वजनिक यातायात सञ्चालन गर्न सकिने उहाँले प्रष्ट्याउनुभयो । निर्णयबमोजिम उपत्यकाबाहेक जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न पाइनेछ ।

मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न साप्ताहिक रुपमा हुँदैआएको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले सार्वजनिक यातायात सञ्चालकले मापदण्ड पूरा गरी सञ्चालन गर्न केही दिन समय लाग्नसक्ने बताउनुभयो ।

सरकारले सार्वजनिक यातायात सञ्चालनका लागि सिट क्षमताको पचास प्रतिशत मात्रै यात्रु बोक्न पाउने, प्रत्येक सवारीसाधनमा ‘सेनिटाइजर’ र यात्रुले मास्क लगाउनुपर्ने तथा चालकले पञ्जा र मास्क लगाउनुपर्ने मापदण्ड तोकेको छ । त्यसैगरी, एक पङ्क्तिमा एक यात्रु मात्रै बस्न पाउने मापदण्ड निर्धारण गरिएको छ । सार्वजनिक सवारीले यात्रुबाट अतिरिक्त पचास प्रतिशत रुपियाँ लिन पाउने मन्त्री खतिवडाले बताउनुभयो ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *