पश्चिम नवलपरासीका सातै स्थानीय तहमा क्वारेन्टाइन

काठमाडाैँ । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पश्चिम नवलपरासीका सातै स्थानीय तहले क्वारेन्टाइन निर्माण गरेका छन् । कोरोना भाइरसको सम्भावित सङ्क्रमण, फैलावट र त्यसबाट निम्तिन सक्ने विपद् व्यवस्थापनका लागि स्थानीय तहले विद्यालय, स्वास्थ्य संस्था तथा खाली चौरलाई उपयोग गर्दै क्वारेन्टाइन निर्माण गरेका हुन् ।

सात स्थानीय तहले नौ वटा क्वारेन्टाइन बनाएका छन् । ती क्वारेन्टाइनमा एकैपटक करिब २०० लाई राख्न सकिन्छ । रामग्राम नगरपालिकाले सदरमुकाम परासीस्थित आदर्श माविमा तत्कालका लागि २५ श्ययाको क्वारेन्टाइन बनाएको छ । पच्चीस श्यया थप गरी ५० श्ययाको बनाउने लक्ष्य रहेको नगर प्रमुख नरेन्द्र गुप्ताले जानकारी दिनुभयो ।

सुनवल नगरपालिकाले जर्गाहास्थित प्रहरी युक्ति तालिम महाविद्यालयको परिसर अगाडि रहेको खाली चौरमा १०० श्ययाको क्वारेन्टाइन निर्माण गरेको छ । क्वारेन्टाइनमा एकजना चिकित्सक र स्वास्थ्यकर्मीसहित उपचारको व्यवस्था, खाना, आवास तथा अन्य आधारभूत न्यूनतम सुविधाको व्यवस्था गरिएको नगर प्रमुख भीमबहादुर थापाले बताउनुभयो ।

बर्दघाट नगरपालिकाले दुई स्थानमा क्वारेन्टाइन बनाएको छ । चिसापानीस्थित दिव्यज्योति बहुमुखी क्याम्पस र बाल्मीकि मावि मोतिबस्तीमा गरी ५० श्ययाको क्वारेन्टाइन निर्माण गरिएको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।

“क्याम्पसमा १५ श्यया र विद्यालयमा २० श्यया तयारी अवस्थामा छ, आवश्यक परेमा ५० श्ययासम्म राख्न सक्छौँ”, उहाँले थप्नुभयो, “क्वारेन्टाइनमा खाना, बस्न तथा स्वास्थ्य जाँचको व्यवस्था मिलाएका छौँ, शहीद स्मृति अस्पतालमा पनि पाँच श्ययाको आइसोलेसन वार्ड स्थापना गरेका छौँ, त्रिवेणी चोकमा हेल्थ डेस्क सञ्चालनमा ल्याएका छौँ ।”

पाल्हीनन्दन गाउँपालिकाले पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित सुविधासम्पन्न भवनलाई क्वारेन्टाइन बनाएको छ । “तत्कालका लागि १० श्यया तयारी अवस्थामा छ, नयाँ भवन खाली भएकाले ५० श्ययासम्म बढाउने हाम्रो सोच छ, अहिले भारत तथा विभिन्न मुलुकबाट आएका पाँचजनालाई यहाँ राखेका छौँ”, गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक)ले भन्नुभयो ।

सरावल गाउँपालिकाले पनि दुई स्थानमा क्वारेन्टाइन तयार गरेको छ । वासास्थित वसन्त मावि र भुजहवास्थित बाल्मीकि प्राविमा १०÷१० श्ययाको क्वारेन्टाइन निर्माण गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो ।

प्रतापपुर गाउँपालिकाले बेलाटारीस्थित त्रिभुवन क्याम्पसको गान्धी हललाई क्वारेन्टाइन बनाएको छ । श्ययाको अभाव भएकोले भुईंमा म्याट बिछ्याएर बस्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष राजकुमार शर्माले बताउनुभयो । त्यहाँ १५ जनालाई राख्न सकिने उहाँको भनाइ छ । अहिले पनि त्यहाँ भारतबाट आएका सातजनालाई क्वारेन्टाइनमा राखिएको उहाँले बताउनुभयो ।

सुस्ता गाउँपालिकाले वेल्वानीस्थित पक्लिहवा स्वास्थ्य चौकीको नवनिर्मित सुविधासम्पन्न भवनलाई क्वारेन्टाइन बनाएको छ । हाललाई १० श्यया तयारी अवस्थामा राखिएको र आवश्यक परेमा थप गर्दै जाने गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयो । अहिले चारजना क्वारेन्टाइनमा राखिएको उहाँले बताउनुभयो ।

स्थानीय तहहरुले क्वारेन्टाइनमा खाना, आवास, सुरक्षा, शौचालय, खानेपानी, बिजुली, झुल, पङ्खा तथा अन्य दैनिक उपभोग्यवस्तुको व्यवस्था मिलाएका छन् । क्वारेन्टाइनमा राखिएकाहरुको नियमित स्वास्थ्य परीक्षण गर्ने र शङ्का लागेमा आइसोलेसनमा पठाउने स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिनुभयो ।

जिल्लामा निर्माण भएका नौवटै क्वारेन्टाइनको जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्कर राय, नागरिक समाजका जिल्ला अध्यक्ष कैलाश ठाकुर, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति राजेन्द्र अग्रहरीलगायतको टोलीले बिहीबार अनुमगन गरेको थियो ।

अन्य स्थानीय तहमा व्यवस्थित भए पनि सरावल र प्रतापपुर गाउँपालिकामा निर्माण भएका क्वारेन्टाइनलाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको बताउँदै जिसस प्रमुख रायले भन्नुभयो, “दुईवटै स्थानीय तहका प्रमुखहरुलाई मैले व्यवस्थित गर्न भनेको छु ।”

स्थानीय तहहरुले आ–आफ्नो व्यवस्थापनमा क्वारेन्टाइन निर्माण गर्दा लागत धेरै लागेको तथा श्ययालगायत आवश्यक उपकरणहरु नपाएको अवस्था देखिएकाले सबै स्थानीय तह मिलेर जिल्लाको कुनै एक स्थानमा व्यवस्थित र सुविधासम्पन्न क्वारेन्टाइन निर्माण गर्न आवश्यक देखिएको नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति राजेन्द्र अग्रहरीले बताउनुभयो ।

क्वारेन्टाइनका लागि आवश्यक पिपिईलगायत स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा उपकरण छिटो व्यवस्थापन गर्न नागरिक समाजका अध्यक्ष कैलाश ठाकुरले आग्रह गर्नुभयो । “कतिपय चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरसको विषयमा दक्ष हुनुहुन्न, डराइरहेको अवस्था छ, उहाँहरुलाई तालिम तथा प्रोत्साहन गर्न तीनै तहका सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *