हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
गोर्खा भर्ती सन्धि पुनरावलोकन माग गर्दै नेपालले लेख्यो ब्रिटेनलाई पत्र
काठमाडौँ । गोर्खा भर्तीबारे सात दशकभन्दा पहिले नेपाल, भारत र ब्रिटेनबीच भएको एउटा त्रिपक्षीय सन्धिको पुनरवलोकन गर्न माग गर्दै नेपालले ब्रिटेनलाई औपचारिक पत्र पठाएको छ । दुईदिन अघि परराष्ट्र मन्त्रालयले काठमाण्डूस्थित ब्रिटिश राजदूतावासलाई पठाएको पत्रमा नेपालले त्रिपक्षीय सन्धिको पुनरवलोकन र अवकाशप्राप्त गोर्खाका गुनासाहरूबारे वार्ताका लागि प्रस्ताव गरेको बीबीसीले समाचारमा जनाएको छ ।
तर उक्त पत्रबारे परराष्ट्र मन्त्रालयका अधिकारीहरूले औपचारिक जानकारी दिन अस्वीकार गरेका छन् । ब्रिटिश उपनिवेशबाट भारत स्वतन्त्र भएपश्चात् गरिएको उक्त सन्धिकै प्रावधानका आधारमा नेपाली नागरिकहरू ब्रिटिश र भारतीय सेनामा भर्ती हुँदै आएका छन् ।
सन् १९४७ मा भएको उक्त सन्धिपश्चात् नेपालले यसप्रकारको औपचारिक पत्र पठाएको यो नै पहिलो पटक भएको बताइएको छ । गत जुन महिनामा भएको प्रधानमन्त्री केपी शर्मा ओलीको यूके भ्रमणका बेला उनले समकक्षी टरिजा मेसँग पनि उक्त सन्धि पुनरवलोकनको प्रस्ताव राखेका थिए ।उनले सन् १९४७ यता परिस्थिति निकै बदलिइसकेकाले त्यसको पुनरवलोकन गर्नुपर्ने भनाइ राखेको त्यसबेलाका प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बीबीसीलाई जानकारी दिएका थिए ।
पत्रमा के छ ?
भूतपूर्व गोर्खा र कतिपय राजनीतिक दलका नेताहरूले पनि पटकपटक उक्त सन्धिको पुनरवलोकन हुनुपर्ने माग गर्दै आएका थिए । परराष्ट्र मन्त्रालयले नेपालस्थित ब्रिटिश दूतावासलाई गत बुधवार पठाउनुअघिको उक्त पत्रको प्रतिलिपि बीबीसीले अनौपचारिक रूपमा प्राप्त गरेको हो ।
पत्रमा सन् २००७ देखि ब्रिटिश सेनामा कार्यरत नेपाली नागरिकहरूलाई समान तलब र पेन्सन उपलब्ध गराउन थालेकोमा नेपाल सरकारले ब्रिटिश सकारलाई धन्यवाद दिएको छ। तर अझै पनि भूतपूर्व गोर्खासँग सम्बन्धित ’कतिपय जायज मुद्दाहरू सम्बोधन हुन बाँकी रहेको’ त्यसमा उल्लेख छ।
ती मुद्दाहरूलाई ब्रिटिश पक्षबाट ’समानता, न्याय र निष्पक्ष सम्बोधनको आवश्यकता रहेको’ पत्रमा लेखिएको छ । विभिन्न समयका प्रतिवेदनहरूमा गोर्खाका मागबारे भएका प्रगतिबारे दुईपक्षीय छलफलमार्फत् समाधान खोजिने कुरा उल्लेख भएको नेपालले जनाएको छ।
त्यस्ता प्रतिवेदनहरूमा गोर्खाबारे नेपाल र ब्रिटेनका प्रतिनिधिहरू रहेको द्विपक्षीय कार्य समूहले सन् २०१८ मा तयार पारेको प्रतिवेदन तथा सन् २०१४ मा ब्रिटिश संसदीय समूहले तयार पारेको प्रतिवेदनबारे पत्रमा उल्लेख गरिएको छ।
गत वर्ष नेपालका प्रधानमन्त्रीको ब्रिटेन भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीहरूबीच सन् १९४७ को त्रिपक्षीय सन्धि पुनरवलोकन गर्नेबारे छलफल भएको पत्रमा स्मरण गराइएको छ । त्यस्तै गत वर्ष मार्च १५ मा नेपालको संसद्को अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिले प्राथमिकताका साथ उक्त कुरालाई उठाउन निर्देशन दिएको उल्लेख गर्दै पत्रमा भनिएको छ, “‘ मन्त्रालय उक्त त्रिपक्षीय सन्धि पुनरावलोकन गर्ने मनयासयका साथ नेपाल र यूकेबीच औपचारिक छलफल गर्न चाहेको कुरा प्रस्ताव गर्दछ।“
मन्त्रालयले त्यस्तो छलफलका लागि सम्बन्धित ब्रिटिश पक्षसँग समन्वय गराइदिन र दुई पक्षबीचका टोली र समयबारे जानकारी गराउन पनि आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले उक्त विषयलाई उच्च प्राथमिकतामा राखिदिन पनि दूतावासलाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अन्य उच्च अधिकारीहरूले पत्रबारे प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।