हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
माल्दिभ्समाथि ८४ रनको जित, आगामी यात्रा झन् सकसपूर्ण
काठमाडौ । घरेलु मैदानमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेट टोलीले फाइनलमा पुग्ने सम्भावना जिवितै राखेको छ । शुक्रबार भएको खेलमा माल्दिभ्सलाई हराएको नेपालले लिगको अन्तिम खेलमा बङ्गलादेशलाई पराजित गर्न सके फाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ ।
आफ्नो तेस्रो खेलमा नेपालले माल्दिभ्समाथि ८४ रनको जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको ग्राउन्डमा नेपालले प्रस्तुत गरेको १ सय ६४ रनको लक्ष्य पछ्याउँदै माल्दिभ्सले पुरा २० ओभर खेलेपनि छ विकेटको क्षतिमा मात्र ७९ रन जोड्न सक्यो ।
नेपालका लागि ललित नारायण राजवंशी र सुशन भारीले सामान दुई दुई विकेट लिए । पवन सर्राफले एक विकेट लिए ।
नेपालले टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको थियो । सुरुवाती ब्याट्सम्यान सस्तैमा गुमाएको नेपालका लागि करण केसीको विष्फोटक पारी खेले । आठौं नम्बरमा ब्याटिङ्ग गर्न आएका करणले मात्र १६ बलमा दुई चौका र चार छक्कासहित अविजित ४० रन बनाए ।
दिपेन्द्र सिंह ऐरीले ३९ तथा विनोद भण्डारीले १९ रनको योगदान दिए । कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले आजको खेलमा राम्रो गर्न सकेन् । नेपालको जम्मा १५ रन हुँदा खड्का आउट भए भने मल्लले १९ रन जोडे । अन्तिम चरणमा सम्हालिएर खेललेको नेपालले कसिलो फिल्डिङ्ग गरेपछि जिते हात पारेको हो ।
यो जितसँगै नेपालले आफ्नो तीन खेलमध्ये दुईटा जित हात पारेर चार अङ्क जोडेको छ । नेपालले श्रीलङ्का विरुद्धको आफ्नो पहिलो खेलमै हार बेहोरेको थियो । नेपाल विरुद्ध छ विकेटले जित हात पारेको श्रीलङ्काले लिग चरणमा आफ्नो तीन खेल जितेर अङ्कतालिकाको शिर्ष स्थानमा छ । उसको ६ अङ्क छ । श्रीलङ्काले लिग चरणको आफ्नो महत्वपूर्ण एक खेल खेल्न बाँकी छ ।
प्रतियोगितामा अब्बल मानिएको दुई टोली श्रीलङ्का र बङ्गलादेशले एक अर्काको सामना गर्दा नेपाली क्रिकेट प्रशंसकको नजर उक्त खेलमाथि हुनेछ । श्रीलङ्काले उक्त खेलमा जित बेहोरे ऊ स्वतः फाइनलमा पुग्नेछ । तर बङ्गलादेशले उक्त खेलमा जित हात पारे उसको फाइनल पुग्ने सम्भावना बलियो हुन जान्छ र नेपाल विरुद्धको अन्तिम खेल निर्णायक हुनेछ । श्रीलङ्का र नेपाल दुबै राष्ट्र विरुद्धको खेल गुमाएको अवस्थामा मात्रै नेपालको फाइनलको यात्रा सहज, सुरक्षित र सुनिश्चित हुनेछ ।
बङ्गलादेशले श्रीलङ्का विरुद्धको खेलमा जित हात पारे र नेपालसँग हार बेहोरे नेट रन रेटको आधारमा फाइनलमा पुग्ने दुई टोलीको टुंगो लाग्नेछ । नेपालले बङ्गलादेशको सामना शनिबार त्रिवि क्रिकेट ग्राउण्डमा गर्नेछ । उक्त खेल बिहान एघारबजेदेखि हुनेछ । लिगको आफ्नो अन्तिम खेलमा बङ्गलादेशले श्रीलङ्काको सामना गर्नेछ । उक्त खेल आइतबार हुनेछ ।
बङ्गलादेशले भने दुई खेलमध्ये दुबैमा जित हात पारेर चार अङ्कसहित तालिकाको दोस्रो स्थानमा छन् । उसले भुटान र माल्दिभ्सलाई हराएको छ ।