भाेलिदेखि दशैँको लागि नयाँ नोट साट्न पाइने (हेर्नुहोस् कहाँ कहाँबाट पाइन्छ )

काठमाडौं । दशैँको लागि शुक्रबारदेखि नयाँ नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत सटहीको सुविधा उपलब्ध गराउने भएको छ । केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा नयाँ नोट उपलब्ध गराउन लागेको हो ।

यस्तै राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकका काठमाण्डौ उपत्यकामा रहेका विभिन्न शाखाबाट पनि नयाँ नोट साट्न सकिनेछ । बैंकले पाँच, दश, २०, ५० र १०० दरका एकरएक पकेट गरी प्रति व्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ सटही सुविधा उपलब्ध गराउने जनाएको छ ।

यो रकमभन्दा बढी सटही सुविधा आवश्यक हुने व्यक्तिलाई सुकिलो नोट उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।
बैंकको नोटकोष रहेका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकका सबै शाखा कार्यालयमा समेत सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ ।

नेपाल बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा नयाँ नोट उपलब्ध हुनेछ ।

यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोथिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा तथा कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै अन्य वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट पनि सुकिलो तथा सीमितमात्रामा नयाँ नोट सटहीका लागि उपलब्ध गराइनेछ । आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि सुकिलो नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यसैबीच केन्द्रीय बैंकले नोटमा केरमेट नगर्न आग्रह समेत गरेको छ । टीका लगाइ दक्षिण दिँदा, पूजाआजा गर्दा वा अरु कुनै धार्मिक वा सांस्कृतिक कार्य गर्दा रंग लागेका वा मैलिएका हातले नोट नछुन बैंकले सबैसँग आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *