What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
फोनिजको २७औँ स्थापना दिवस
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २७औँ स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसरमा फोनिजले साउन २५ देखि २७ गतेसम्म तीनदिने ‘अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन’ आयोजना गरेको हो।
बुधबार २७औँ स्थापना दिवसका अवसरमा आयोजित प्रभातफेरीमा बोल्दै फोनिजका केन्द्रीय अध्यक्ष लक्कीचौधरीले सम्मेलनमा विश्वका २७ देशका करिब ५० जना विदेशी मातृभाषी पत्रकारसहित देश–विदेशबाट करिब ४०० मातृभाषी पत्रकार सहभागी भएको बताए।
उनका अनुसार सम्मेलनमा मातृभाषा पत्रकारिताको अवस्था, मातृभाषी पत्रकारका समस्या, सञ्चारगृहको अवस्था र राज्यको नीतिगत भूमिकाबारे छलफल भइरहेको छ। सम्मेलनका दुई दिनमा करिब ११ वटा प्यानल छलफल र १४ वटा कार्यपत्र प्रस्तुत गरिएको उनले जानकारी दिए।
चौधरीले विगतमा स्थापना दिवसका कार्यक्रम भाषण र औपचारिक समारोहमा मात्र सीमित हुने गरेको बताए। यसपटक भने त्यसबाट सिक्दै स्थापना दिवसलाई नीतिगत बहससँग जोड्ने प्रयास गरिएको उनको भनाइ छ।
आदिवासी अधिकारसँग सम्बन्धित विभिन्न विषयमा विज्ञहरूलाई सहभागी गराएर प्यानल छलफल गरिएको उनले बताए। मातृभाषी पत्रकारिता र आदिवासी अधिकारका सवाललाई राज्यको नीति तथा व्यवहारसँग जोडेर छलफल गरिएको पनि उनले जानकारी दिए।
नेपालमा मातृभाषी पत्रकारको वास्तविक अवस्था र तथ्यांकबारे राज्यस्तरबाट पर्याप्त अध्ययन तथा अभिलेखीकरण हुन नसकेको चौधरीले बताए। देशभरका मातृभाषी पत्रकारलाई संगठित गर्ने छाता संस्थाका रूपमा फोनिजले यस विषयलाई निरन्तर उठाउँदै आएको उनले उल्लेख गरे।
सम्मेलनको अन्तिम दिन बुधबार बिहानदेखि दिउँसोसम्म विभिन्न कार्यपत्र प्रस्तुतिसहित प्यानल छलफल हुने उनले बताए। साँझ ‘काठमाडौं घोषणापत्र’ जारी गर्दै अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलनसँगै फोनिजको २७औँ स्थापना दिवस समारोह समापन गरिने उनले जानकारी दिए।






