झोला छैन, टाउकोमै किताब बोक्न बाध्य विद्यार्थी

मलेखु । गरिबीका कारण धादिङको महाभारत श्रृङ्खला क्षेत्रका विद्यार्थी टाउकोमै किताब कापी बोक्न बाध्य छन् । झोला किन्ने पैसा नहुँदा प्राय विद्यार्थीले टाउको र हातमै किताब कापी बोक्ने गरेका हुन् ।

गजुरी गाउँपालिका–४ को गैरीगाउँ माध्यमिक विद्यालयका अधिकांश विद्यार्थीहरूसँग किताब÷कापी बोक्ने झोला छैन । जसका कारण सानादेखि ठूला अधिकांश विद्यार्थी किताब कापी प्रायः टाउको र हातमै बोकेर विद्यालय जाने÷आउने गर्दछन् । स्थानीय शिक्षिका निरु चेपाङ भन्नुहुन्छ, “अभिभावकको आर्थिक अवस्था कमजोर हुँदा विद्यार्थीलाई किताब बोक्ने झोला किनिदिन सक्दैनन्, सधैँ हात र टाउकोमा किताब कापी बोकेर पढ्न विद्यालय आउनु यहाँका विद्यार्थीको बाध्यता हो ।”

दिनहुँ विद्यालय जाँदा आउँदा यसरी झोलाविना किताब कापी बोक्दा च्यात्तिने, हिलो धुलोमा खस्ने समस्याले विद्यार्थी आजित छन् । पैसा नहुँदा आफूहरूले झोला किन्न नसकेको कक्षा सातमा अध्ययनरत विद्यार्थी सुविना चेपाङले बताउनुभयो । “घरमा झोला छैन, दुई वर्षअघि डोको बेचेर किनेको एउटा झोला छ महिनामै च्यातियो, फेरी किन्ने पैसा छैन”, सुविनाले भन्नुभयो, “किताब कापी बोकेर दिनमा दुई घण्टा ओरालो उकालो हिँड्नुपर्छ, वर्षमा दुई वटा झोला किन्न सक्ने अवस्था छैन, त्यसैले प्राय सबैले टाउको र हातमै किताब बोक्छन् ।”

नेवारवासका विद्यार्थीलाई घरबाट विद्यालय पुग्न एक घण्टा ओरालो झर्नुपर्छ । विद्यालयबाट उकालो हिँडेर घर पुग्न अझ बढी समय लाग्छ । “ओरालो उकालो बाटो किताब कापी जोगाएर बोक्न साह्रै गाह्रो हुन्छ, झोला भए सजिलो हुन्थ्यो, झोला किन्न बुबा आमासँग पनि पैसा छैन”, सुविनाले सुनाउनुभयो । गजुरी गाउँपालिका–५ को डोलभञ्ज्याङ माध्यमिक विद्यालयसहित महाभारत श्रृङ्खला क्षेत्रका अधिकांश विद्यार्थीले टाउकोमै किताब बोक्छन् । कतिपय अभिभावकको घरको आर्थिक अवस्था कमजोर भएका कारण अभिभावकले चप्पल किन्न नसक्ने भएकोले विद्यार्थीहरू खाली खुट्टै विद्यालय आउने गरेको स्थानीय अगुवा प्रमोद रूपाखेतीको भनाइ छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *