विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई १० लाख दिइने

वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई १० लाख रुपैयाँ दिइने भएको छ।

काठमाडाैं । श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी वैदेशिक रोजगार व्यवस्थापनका विषयमा जानकारी दिएको छ। पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव राजीव पाखरेलले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

उनले वैदेशिक रोजगार बोर्डमार्फत श्रमिकले पाउने सेवा सुविधामा वृद्धि भएको बताए। “विदेशमा कामदारको मृत्यु भएकामा परिवारलाई दिने रकम १० लाख पु¥याइनेछ,” पोखरेलले भने।

यसअघि विदेशमा श्रमिकको ज्यान गुमाएका परिवारलाई सात लाख रुपैयाँ प्रदान गरिँदै आएको छ। त्यस्तै, वैदेशिक रोजगारीबाट फर्केर आउने श्रमिकको स्वास्थ्य परीक्षण गरिने, विभिन्न देशमा मनोसामाजिक परामर्श एवं स्वास्थ्य परीक्षण क्याम्पमार्फत सेवा प्रवाह गरिने, ठगी नियन्त्रणमा अधिकार प्रत्यायोजन, सामाजिक सुरक्षाकोषको सेवा विस्तार गरिने पोखरेलले बताए।

वैदेशिक रोजगारमा पठाउनुको विकल्प नभएकाले यसलाई व्यवस्थित गरिने मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बताए। “वैदेशिक रोजगारीमा नपठाउनुको विकल्प छैन। यस सम्बन्धमा देखिएका समस्यालाई समाधान गरी व्यवस्थित, सुरक्षित गर्ने विषयमा मन्त्रालय केन्द्रित छ,” उनले भने।

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थापन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए। “विभागले वैदेशिक रोजगारीमा नियमनकारीको भूमिका निर्वाह गरिरहेको छ। चेतनाको कमीबाट हुने ठगी र व्यावसायिक ठगीलाई नियन्त्रण गर्न लक्षित वर्गमा सचेतना गराउन जरुरी छ,” उनले भने।

मन्त्रालयले आगामी कार्यदिशामा तालिमयुक्त जनशक्ति निर्माण गर्ने, परामर्श सेवा प्रदाय संस्था लगायतका व्यवसायी तथा व्यक्तिगत ठगी नियन्त्रण गर्ने, सेवा शुल्क, घरेलु कामदार, माग प्रमाणीकरण, सूचना सम्प्रेषणमा एकरूपता ल्याउने जनाएको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *