न्यू मिडियालाई स्वनियमनबाट नै व्यवस्थित गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्यू मिडियाको व्यवस्थापन स्वनियमनबाट नै गर्न सकिने बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालले आज भक्तपुरमा गरेको न्यू मिडिया र आचारसंहिताका चुनौती विषयक ‘सम्पादक संवाद’ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शर्माले न्यू मिडियालाई स्वअनुशासित गराउने, स्वनियमनमा राख्ने विषय चुनौतीपूर्ण रहेको भए पनि यसैबाट व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

“न्यू मिडिया पनि मिडिया हो, यसले पनि अगाडि बढ्न खोज्दैछ । हाम्रो समाजमा अहिले जे परिवर्तन आयो, त्यसलाई आत्मसाथ गर्न सकेनौँ भने त डायनोसर बन्ने स्थिति पनि बन्ला”, उहाँले भन्नुभयो, ‘सबैभन्दा ठूलो कुरा स्वनियमन र आचारसंहिता हो । यो नभए कानून पनि त चाहिएला । त्यसतर्फ सोचौँ ।”

मन्त्री शर्माले सञ्चार माध्यमले सकारात्मक पक्षको उजागर गर्न आवश्यक रहेको बताउनुभयो । “एउटा पत्रकारले बदमासी ग¥यो भने सबै पत्रकार बदमास, एउटा राजनीतिज्ञले बदमासी ग¥यो भने सबै नेता खराब, एउटा कर्मचारीले बदमासी ग¥यो भने कर्मचारीतन्त्र सबै खराब हो भन्नेजस्तो देखाइएको छ । हामी अलि बढी नकरात्मक समाचारमा रमाउन थालेका छौँ । नकारात्मक मात्रै छ कि जस्तो भयो । समाजमा सकारात्मक पक्ष पनि छ, त्यसलाई प्रोत्साहन गरौँ”, उहाँले भन्नुभयो ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यमको परिवर्तित अभ्यास, काउन्सिल र सरकारको भूमिका र कामलाई समीक्षा गरी सुझावअनुसार काउन्सिल अगाडि बढ्न तयार रहेको बताउनुभयो । “हामीले के गरिरहेका छौँ ? पत्र कसलाई काट्यौँ ? के कुरामा काट्यौँ वा काटेनौँ ? भन्ने जस्ता विषयमा पनि प्रष्ट सुझाव आओस्”, उहाँले भन्नुभयो ।

कार्यक्रममा न्यू मिडिया र आचारसंहिताको पालनाका चुनौती विषयमा कार्यपत्र प्रस्तुत गर्दै काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहालले न्यू मिडियालाई पछ्याउनुको विकल्प नरहेको बताउनुभयो । उहाँले न्यू मिडियालाई पत्रकार आचारसंहिता र मूल्य–मान्यताको पालनामा प्रोत्साहित गर्नुपर्ने उल्लेख गर्नुभयो । “अब पत्रकारलाई राज्य, सरकारले नियन्त्रण गर्न सम्भव छैन । सहजीकरण गरिदिने हो । स्वतन्त्र समाजमा आचारसंहिता पालना र मिडियालाई स्वघोषणा गराउनुपर्छ”, दाहालले भन्नुभयो । पत्रकारलाई नै जिम्मेवारीको विकेन्द्रीकरण गराउन उपयुक्त हुने र काउन्सिलका अबका काम त्यसतर्फ उन्मुख हुनुपर्ने उहाँको सुझाव थियो ।

दाहालको कार्यपत्रमाथि टिप्पणी गर्दै वरिष्ठ पत्रकार किशोर नेपालले काउन्सिलको गरिमा अझै बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले पत्रकारितामा राजनीति हावी हुँदा विकृति बढेको भन्दै पत्रकारितालाई मर्यादित र व्यवस्थित बनाउन काउन्सिलको भूमिका फराकिलो बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

यस्तै वरिष्ठ पत्रकार बबिता बस्नेतले लामो समय पत्रकारितामा बिताएकाहरू नयाँ मिडियामा अभ्यस्त हुन खोजिरहेकाले मिडियालाई पुनःपरिभाषित गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले मिडियाका यस्ता सवालमा गरिएको सम्पादक संवाद प्रशंसनीय रहेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

कार्यक्रममा अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले विगतमा रेडियोका पत्रकारलाई पत्रकार नमानिएजस्तो अहिले युट्युबजस्ता माध्यममा पत्रकारिताको अभ्यास गरिरहेकालाई पत्रकार नमान्ने गल्ती गर्न नहुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *