स्टार्ट अप व्यवसाय र कार्यस्थलमा आधारित रोजगारीसम्बन्धी गृहकार्य गर्न कार्यदल गठन

काठमाडौं । आर्थिक वर्ष २०७८÷७९ को बजेटमा निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरूको कार्यान्वयनको तयारीका विषयमा अर्थ मन्त्रालयले छलफल गरेको छ । छलफलबाट कार्यस्थलमा आधारित तालिम तथा रोजगारीसम्बन्धी गृहकार्य गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल बैङ्कर्स एशोसियसनका पदाधिकारीहरूसँग आइतबार भएको छलफलबाट स्टार्टअप व्यवसाय र कार्यस्थलमा आधारित तालिम तथा रोजगारी कार्यक्रमसम्बन्धी गृहकार्य गर्न कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराई संयोजक रहनु भएको कार्यदलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय योजना आयोगका साथै नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधि सदस्य रहनुभएको अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीले जानकारी दिनुभयो ।

संयोजक भट्टराईले कार्यदलले आर्थिक वर्ष २०७८÷७९ सुरु भएसँगै कार्यक्रमहरू कार्यान्वयन गर्नेगरी असार मसान्तभित्रै कार्यक्रमसम्बन्धी आवश्यक कार्यविधि र कार्ययोजना तयार गर्ने बताउनुभयो । आर्थिक वर्ष २०७८÷७९ को बजेटमा युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन उत्प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी एक प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म बीउ पुँजीकर्जा उपलब्ध गराइने र त्यसका लागि १ अर्ब रुपैयाँको च्यालेन्ज फण्ड स्थापना लगायत उल्लेख गरिएको थियो ।

त्यस्तै, स्वदेशी उद्योगको आवश्यकताअनुरुपको सीपयुक्त जनशक्तिको विकास गर्न निजी क्षेत्रको साझेदारीमा उत्पादन तथा सेवामुलक उद्योगमा प्रशिक्षार्थी कामदारलाई तीन महिनाको न्यूनतम पारिश्रमिक बराबरको अनुदान उपलब्ध गराई कार्यस्थलमा आधारित तालिम सञ्चालन गर्न १ अर्ब रुपैयाँ छुट्याएको, तालिम प्राप्त गर्ने प्रशिक्षार्थी कामदारलाई आधारभूत तालिम दिई सोही उद्योगमा न्यूनमत २ वर्षको रोजगारी सुनिश्चित गर्ने व्यवस्था मिलाइने भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *