रेम्डेसिभिरमा कालोबजारी, एक भाइलकै ४० हजार

काठमाडौं । कोराना संक्रमित उपचारमा प्रभावकारी मानिएको ‘रेम्डिसिभिर’मा कालोबजारी पाइएको छ । बिरामीका आफन्तका अनुसार एक भाइल रेम्डेसिभिरको ४० हजारमा किन्नुपर्ने बाध्यता छ । उपत्यकामा रहेका अस्पतालमा संक्रमितका आफन्तलाई रेम्डेसिभिर पाउनै सकस छ ।

औषधि आयातकर्ताका अनुसार एक भाइल रेम्डेसिभिरको मूल्य अधिकतम ५ हजार २ सयसम्म पर्छ । ‘डाक्टरले रेम्डेसिभिर ल्याउन आग्रह गर्नुभयो,’ संक्रमितका एक आफन्तले राजधानीसित भने, ‘कतै पाइएन अनि सामाजिक सञ्जालबाट रेम्डेसिभिर कही“ भए सम्पर्क गर्न आग्रह गरें । दाइको जीवन रक्षाका लागि भए पनि पाँच भाइल रेम्डेसिभिर २ लाखमा किन्न बाध्य भएको छु ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल ३ हजार भाइल रेम्डेसिभिर भित्रिसकेको बताउ“छन् । ‘बंगलादेशबाट पनि नेपालमा रेम्डेसिभिर आउँदै छ तर बंगलादेशले भारतमा जोखिममा रहेकाले उसैलाई प्राथमिकतामा राखेको छ,’ उनले भने ।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले रेम्डेसिभिरमा ‘कसैले कालोबजारी गरेको पुष्टि भए कारबाही गरिने’ प्रतिबद्धता जनाए । ‘अबको केही दिनमा रेम्डेसिभिर सहज तरिकाले आपूर्ति हुन्छ । आज सोमबार बेलुकीसम्म दुई निजी आयातकर्ता कम्पनीमार्फत बंगलादेशबाट ७ हजार भाइल रेम्डेसिभिर आउँदै छ, आउनेक्रम जारी रहन्छ ।’

औषधि आयातकर्ता संघ महासचिव पवन आचार्य ‘कसैले रेम्डेसिभिर कालोबजारी गरे त्यस्तालाई कानुनी दायरामा ल्याउनुपर्ने’मा जोड दिन्छन् । ‘कठिन स्थितिमा आफैंलाई राज्य सम्झेर अघि बढ्नुपर्छ,’ उनी भन्छन्, ‘केही दिनयता गम्भीर संक्रमित संख्या बढ्दोक्रममा छ ।’

देशभर आइतबार कोरोना संक्रमित संख्या ७ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार १६ हजार ७ सय ७० जनाको कोरोना परीक्षण गरिएको छ । १६ हजार १ सय ४७ जनाको पीसीआर गर्दा ७ हजार १ सय ३७ र ६ सय २३ जनाको एन्टीजेन गर्दा ७४ जनामा कोरोना पुष्टि भएको हो । हाल, देशभर ६७ संक्रमित क्वारेन्टाइनमा छन् । पछिल्लो २४ घण्टामा १ हजार ६ सय १२ डिस्चार्ज भएका छन् ।

यसैबीच, देशभर ६ सय ८ संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ४ सय ७७ जना आईसीयू र १ सय ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

देशभर रहेका ४८ हजार ७ सय ११ सक्रिय संक्रमित छन् । प्रदेशअनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा छन् । बाग्मतीमा आईसीयूमा २ सय ५४ र भेन्टिलेटरमा ७७ जना संक्रमित उपचाररत छन् ।

प्रदेश १ मा ५४ जना आईसीयू र १४ जना भेन्टिलेटर, प्रदेश २ मा २४ जना आईसीयू र दुई भेन्टिलेटर, गण्डकी प्रदेशमा पाँच जना आईसीयू र एक भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा ७७ जना आईसीयू र २१ जना भेन्टिलेटर, कर्णाली प्रदेशमा ३३ जना आईसीयू र सात भेन्टिलेटर तथा सुदुरपश्चिम प्रदेशमा ३० आईसीयू र नौ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । प्रशान्त वलीले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *