नेकपाको सचिवालय बैठक दिउँसो १ बजे बालुवाटारमा बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज दिउँसो १ बजे पुनः बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सूचना प्राप्त भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

शनिबार बसेको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबारको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय भएको जानकारी गराउनुभएको थियो । प्रधानमन्त्रीको कार्यव्यस्ततालाई ध्यान दिंदै बैठक बालुवाटारमै बस्ने तयभएको सचिवालयका एक सदस्यले जानकारी दिनुभयो ।

शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्ताव सचिवालयका सबै सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको थियो । आजको बैठकमा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत प्रस्तावका विषयमा समेत छलफल शुरु हुने सचिवालयका सदस्यहरुको भनाई छ ।

दुई अध्यक्षको फरक फरक प्रस्ताव बैठकमा आएपछि बढेको विवादलाई सल्टाउन आवश्यक परामर्शपछि दुवै अध्यक्षको संयुक्त प्रस्तावका लागि सचिवालयका सदस्यहरुले आजदेखि सुझाव प्रस्तुत गर्नुहुनेछ । अध्यक्षद्वयको प्रस्तावमाथि सचिवालयका सदस्यहरुले राय सहितको सुझाव राख्नु भएपछि सचिवालय बैठकले प्रस्तावबारे ठोस निर्णय गर्ने बताइएको छ ।

सचिवालयमा दुई अध्यक्षसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र महासचिव विष्णुप्रसाद पौडेल सदस्य रहनुभएको छ । दुई अध्यक्षबीच यसअघि भएको लिखित सवाल जवाफसहितको पत्र पनि सचिवालयका सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएकाले सो विषयमा समेत छलफल हुनेछ ।

सचिवालय बैठकमा छलफल पछि १८ गते स्थायी ककिटी बैठक तय गरिएको छ । सचिवालयमा सल्टन नसकेको विषय स्थायी कमिटी बैठकमा छलफलका लागि जाने नेकपाका नेताहरुको बुझाई छ । त्यस्तै, २५ गते केन्द्रीय कमिटीको बैठक पनि तय गरिएको छ । सचिवालय, स्थायी कमिटीमा छलफलपछि विस्तृत छलफल र अनुमोदित एजेण्डालाई केन्द्रीय कमिटीमा लगेर पारित गराउने नेकपाको अन्तरिम विधानमा व्यवस्था गरिएको छ । त्यसैले केन्द्रीय कमिटीलाई शक्तिशाली कमिटी मानिन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *