तीस वर्षमै विद्यावारिधि

बागलुङ । हरेक विद्यार्थीको चाह हुन्छ, भरसक धेरै पढ्ने तर परिस्थिति सोचेझैँ नहुन सक्छ । कसैको पढाइमा आर्थिक कारण बाधक बन्छ । कतिलाई जागिरले अल्मल्याउँछ । कोही आफ्नै अक्षमता र कमजोरीले पढाइमा असफल बन्छन् ।

गलकोट नगरपालिका–७ मल्मका ३० वर्षीय रेशम थापाले भने पढाइलाई लिएर कहिल्यै पछाडि फर्कनुपरेन । सानैदेखि पढाइमा तेज थापाले सफलताका लागि जति मेहेनत र जाँगर चलाउनुभयो, उसैगरी परिवारले आड र ढाडस दियो । वातावरण बनाइदियो ।

गाउँकै जनहित माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गर्नुभएका थापालाई उच्च शिक्षा अध्ययनको हुटहुटीले बुटवल, भारतको तामिलनाडु, अमेरिकाको नर्थ ड्याकोटा हुँदै मेरिल्याण्ड राज्यसम्म डोहोर्यायो । उहाँले जनहित माविपछि कक्षा ५ सम्म मल्मकै न्यूस्टेप इङ्लिस बोर्डिङ स्कूलमा पढ्नुभएको थियो ।

द्वन्द्वको प्रभावले गाउँको बोर्डिङ बन्द भएपछि परिवारले जेठोबुबा चन्द्रबहादुरसँग बसेर पढ्न उहाँलाई बुटवल पठाए । सन् २००६ मा बुटवलको क्यानन इङ्गलिस बोर्डिङ स्कूलबाट प्रवेशिका परीक्षा दिनुभएका थापाले बुटवलकै गोलोरियस क्लेजबाट कक्षा १२ को अध्ययन पूरा गर्नुभयो । त्यसपछि उहाँले स्नातकमा कृषि विज्ञान पढ्नका लागि भारत सरकारबाट छात्रवृत्ति पाउनुभयो ।

भारतको ‘तामिलनाडु कृषि विश्वविद्यालय’ मा कृषि विज्ञानमा स्नातक सकेर सन् २०१३ मा थापा नेपाल फर्कनुभयो । नेपाल आएपछि उहाँले कृषिमै स्नातकोत्तर अध्ययनका लागि अमेरिका जाने सोच बनाउनुभयो ।

सन् २०१४ मा थापा पढ्नकै लागि अमेरिका पुग्नुभयो । दुई वर्षपछि ‘नर्थ ड्याकोटा स्टेट युनिभर्ससिटी’बाट माटो विज्ञानमा स्नातकोत्तर हासिल गर्नुभयो । सन् २०१६ मै विद्यावारिधिका लागि उहाँले ‘युनिभर्ससिटी अफ म्यारील्याण्ड’मा बाली विज्ञान पढ्न थाल्नुभयो ।

चार वर्षसम्मको पढाइ र शोधपछि थापाले हालै सो युनिभर्ससिटीको डिपार्टमेन्ट अफ प्लान्ट्स साइन्स एण्ड ल्याण्डस्केप आर्किटेक्चरबाट विद्यावारिधिको उपाधि हासिल गर्नुभएको हो । आउँदो डिसेम्बर २२ मा उहाँ विश्वविद्यालयबाट दीक्षितसमेत हुँदै हुनुहुन्छ ।

थापाले ‘मोडलिङ डिकम्जोजिसन एण्ड नाइट्रोजन रिलिज फ्रम सरफेस कभर क्रप रेसिड्यु इन नो–टिल सिस्टम इन द मिड एटलान्टिक एण्ड साउथइष्टर्न युएसए’ विषयमा शोध गर्नुभएको हो । छोप्ने बाली (कभर क्रप) ले कहिले र कति मात्रामा माटोमा नाइट्रोजन बढाउँछ भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको उहाँको भनाइ छ ।

वर्षको एक बाली मात्र खेती हुने ठाउँमा जमिन बाँझै नरहोस् र माटोको उर्बरा शक्ति ननासियोस् भनेर छोप्ने बाली लगाउने गरिन्छ । त्यस्तो बालीले माटोमा जैविक पदार्थ बढाउने गर्छ । विभिन्न बिरुवा मिसाएर छोप्ने बाली लगाइन्छ । अनुसन्धानले कृषि क्षेत्रको विकासमा नयाँ आयाम थप्ने थापाको विश्वास छ ।

विद्यावारिधिपछि पनि उहाँ विद्या वाचस्पति (पोस्ट डक) का लागि अनुसन्धानमा सक्रिय हुनुहुन्छ । “विद्यावारिधि गर्छु भन्ने त यसअघि सोचेकै थिइनँ, पढ्दै जाँदा बाटो खुल्दै गयो”, उहाँले भन्नुभयो, “अहिले पढाइ मात्र सकिएको छ, व्यावहारिक ज्ञान लिन त बाँकी नै छ ।” थापाले नेपालमा कृषि विज्ञानको पढाइ हुन्छ भनेर भारत गएपछि मात्र थाहा पाएको उल्लेख गर्नुभयो ।

बीचमा अरुथोक नसोची लगातार पढाइमा लागेकाले विद्यावारिधिको अध्ययन छिट्टै पूरा भएको थापाको भनाइ छ । “पछि कुनै परियोजना हुन्छ या अनुसन्धानमार्फत जन्मभूमि नेपालको कृषि क्षेत्रलाई योगदान गर्ने सोच छ”, थापाले सुनाउनुभयो । पढाइमा निरन्तरको लगावले थापाले कम उमेरमै सफलता पाएको उहाँका दाजु दिनेशले बताउनुभयो ।

“भाइ सानैदेखि पढाइमा अब्बल थियो, शुरुदेखि अहिलेसम्मै छात्रवृत्तिमा पढ्न पायो”, दिनेशले भन्नुभयो । भाइले आफूले आर्जेको ज्ञान, सीप र दक्षता देशका लागि खर्चने योजना सुनाउने गरेको दिनेशले बताउनुभयो । थापाका बुबा हिराबहादुर शिक्षण पेशा र आमा थुमकली सामाजिक क्रियाकलापमा सक्रिय हुनुहुन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *