नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १००

काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक सय पुगेको छ ।

वीरगञ्जको नारायणी अस्पतालअन्तर्गतको कोरोना अस्थायी अस्पताल गण्डकमा उपचाररत एक संक्रमितको शुक्रबार साँझ मृत्यु भएसँगै मृतकको सङ्ख्या एक सय पुगेको हो ।

कोरोना संक्रमण पुष्टि भई विगत ७ दिनदेखि उपचारत वीरगञ्ज महानगरपालिकाको मुर्लीका ६० वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको अस्थायी कोरोना अस्पताल गण्डकका संयोजक डा.उदयनारायण सिंहले जानकारी दिनुभयो । पहिलेदेखि नै उच्चरक्तचाप, मधुमेह तथा प्यारालाइसिस रोगबाट पीडित वृद्धलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि साउन २४ गतेदेखि अस्थायी कोरोना अस्पतालमा उपचार गरिएको थियो ।

शुक्रबार एक संक्रमित वृद्धको मृत्यु भएसँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ भने साउन महिनामा मात्रै २२ जनाको मृत्यु भइसकेको छ । मृत्यु भएका २६ मध्ये पर्साका १९, बाराका पाँच, रौतहटका एक रहेका छन् भने जेठ ३१ गते वीरगञ्जको घण्टाघरछेउमा मृत फेला परेका एक संक्रमित युवकको हालसम्म पहिचान हुन सकेको छैन । ०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *