गण्डकीमा थपिए १७ सङ्क्रमित

पाेखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या ७५ पुगेको छ । आज बिहान कास्की, स्याङ्जा, बागलुङ र नवलपरासीमा गरी थप १७ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित बढेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

रुपा गाउँपालिकामा २३ र ३२ वर्षका दुई र पोखरा महानगरपालिकाका ५९ वर्षीय एक पुरुष गरी कास्कीमा तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । स्याङ्जाको वालिङ नगरपालिकाका १६, १९, २५, २३, ३२, ४४, ५२ र ५४ वर्षीय आठ पुरुष र हरिनास गाउँपालिकाका १८ र ४० वर्षका दुई गरी १० थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो ।

बागलुङको ताराखोला गाउँपालिकाका एक ३९ वर्षीय पुरुष, नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनय त्रिवेणी गाउँपालिकाका १८, १९ र २७ वर्षीय तीन पुरुषमा कोभिड–१९ पुुष्टि भएको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । सङ्क्रमितलाई अहिले सम्बन्धित जिल्लाको अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले बताउनुभयो ।

कोभिड–१९ पुष्टि भएका बिरामीमध्ये हालसम्म तीन उपचार गराएर निको भएपछि घर फर्किएका र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ । बागलुङका दुई र लमजुङका एक निको भएका छन् । प्रदेशमा हालसम्म चार हजार ६८७ को पिसीआर परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा तीन हजार ८७७ जनामा सङ्क्रमण देखिएको छैन । परीक्षणका लागि नमूना लिइएकामध्ये ७५४ जनाको नतिजा आउन बाँकी रहेको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *