कोभिड–१९: मृतकको संख्या ६९ हजार नाघ्यो, १२ लाख ७४ हजार बढी संक्रमित [ अपडेट ]

एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण मृत्यु हुनेको संख्या ६९ हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार सोमबार बिहानसम्म ६९ हजार चार सय ७९ पुगेको हो । यस्तै संक्रमितको संख्या १२ लाख ७४ हजार ९ सय २३ पुगेको छ । यस्तै कोरोना संक्रमितमध्ये २ लाख ६० हजार ४ सय ८४ जना सन्चो भएर घर फर्किएका छन् ।

इटलीमा दुई हप्तापछि कोभिड १९ का कारण मृत्यु हुनेको संख्यामा कमी आएको छ । आइतबार इटलीमा ५ सय २५ जनाको मृत्यु भएको छ ।

१९ मार्चयता इटलीमा २४ घण्टाको अन्तरालमा मृत्यु हुने यो सबैभन्दा कम संख्या हो । इटलीमा कोभिड १९ संक्रमणका कारण हालसम्म १५ हजार ८ सय ८७ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ लाख २८ हजार ९ सय ४८ जना संक्रमित छन् ।

स्पेनमा गएको २४ घण्टामा ६ सय ७४ जनाको मृत्यु भएको छ । यो स्पेनमा एक हप्तायता २४ घण्टा अवधिमा मृत्यु हुने सबैभन्दा कम संख्या हो । स्पेनमा कोरोनाका कारण अहिलेसम्म १२ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ र अहिलेसम्म १ लाख ३१ हजार ६ सय ४६ संक्रमित रहेका छन् ।

अमेरिकामा संसारमै सबैभन्दा बढी अर्थात ३ लाख ३७ हजार ६ सय २० जनामा यो भाइरसको संक्रमण देखिएको छ । यहाँ मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६२ भन्दा बढी छ। अमेरिकाको न्युयोर्क सिटी कोभिड १९ का कारण सबैभन्दा बढी प्रभावित भएको छ । न्युयोर्कमा मात्र २ हजार २ सय ५६ जनाको मृत्यु भएको छ ।

यस्तै फ्रान्समा कोरोनाका कारण ८ हजार ७८ जनाको मृत्यु भइसकेको छ । बितेको २४ घण्टामा यहाँ मृत्यु हुनेको संख्या ३ सय ५७ पुगेको छ, शनिबार भने यहाँ ४ सय ४१ जनाको मृत्यु भएको थियो । फ्रान्समा हालसम्म ९३ हजार ७ सय ८० मा यो संक्रमण देखिएको छ ।

बेलायतमा बितेको २४ घण्टामा ६ सय २१ जनाको मृत्यु भएको छ । यहाँ मृत्यु हुनेको संख्या ४ हजार ९ सय ३४ पुगेको छ । संक्रमितको संख्या ४८ हजार ४४० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *