कोरोना नियन्त्रण कोषमा पूर्वराजा ज्ञानेन्द्रले दुई करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौं । सरकारले खडा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहले दुई करोड रुपैयाँ सहयोग गर्ने भएका छन् । मंगलबार साँझ एक सन्देश जारी गर्दै पूर्वराजा शाहले बुहारी हिमानीको नाममा रहेको हिमानी कोषबाट उक्त रकम सरकारलाई दिने बताएका हुन् ।

उनले कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिएको बताएका छन्। ‘देश र जनतामा यस महामारीले भय र सन्त्रास पैदा गराएको छ। मानव अस्तित्व रक्षाका निम्ति भई रहेको पहल प्रति संवेदनशील हुँदै हामी सबैले आ–आफ्नो ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्‍याउनु अनिवार्य भइसकेको छ,’ उनको सन्देशमा भनिएको छ,‘ यो अवस्थाबाट मुक्त हुन लकडाउन नै वाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौं र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ।’

पूर्वराजा शाहले महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्ने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्‍याउने सञ्चारकर्मी एंवम् पत्रकारहरूप्रति आभार व्यक्त गरेका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *