नेकपाको एमसिसी अध्ययन कार्यदलले माग्याे थप समय, दश दिनमा लागेन टुङ्गाे

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एसिसी)को अध्ययन गर्न गठित कार्यदलले समय थप गर्न माग गरेको छ । कार्यदलका संयोजक तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले १० दिनको समय अपुग भएकाले पुनः १० दिनको समय दिन पार्टी नेतृत्वसँग माग गर्नुभएको हो । गत माघ १९ गते गठित अध्ययन कार्यदलको १० दिनको समय आज सकिएको हो ।

आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटी कार्यदलको समय थप गर्न माग गर्नुभएको उहाँले जानकारी दिनुभयो । कार्यदलका संयोजक खनालले अहिले एमसिसीका बारेमा अध्ययन र छलफलको क्रम जारी रहेकाले समय अपुग भएको बताउनुभयो । ‘‘मैले आज दुबै अध्यक्षलाई भेटी एमसिसीको अध्ययन गर्नका लागि समय अपुग भयो । अझै १० दिन समय थप्न भनेको छु’’ उहाँले रासससँग कुरा गर्दै भन्नुभयो, ‘‘जहाँसम्म अध्यक्षद्वयले मेरो आग्रहलाई स्वीकार गर्दै १० दिनको समय थप्नुहुन्छ ।’’

उहाँले आफूहरुले थप गरिएको १० दिनभित्र पार्टीलाई प्रतिवेदन बुझाउने जानकारी दिनुभयो । कार्यदलले अहिले एमसिसीसम्बन्धी सामग्री जम्मा गर्ने, अध्ययन र विश्लेषण गर्ने कार्य गरिरहेको छ ।

पार्टीको यही माघ १५ देखि १९ गते सञ्चालन भएको केन्द्रीय कमिटी बैठकमा एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली रहेको कार्यदल गठन गर्ने निर्णय गरेको थियो । कार्यदलको बैठक यसबीचमा तीन पटक बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *