बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नेपाल भ्रमण गरी जीवनभरिका लागि मीठो अनुभव लिएर जानुस्’
काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण गरी जीवनभरिका लागि मीठो अनुभव लिएर जान विश्व समदुायलाई अपिल गर्नुभएको छ ।
दशरथ रङ्गशालामा आज आयोजित नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनका अवसरमा मन्त्री भट्टराईले नेपाल संसारकै एक अद्वितीय पर्यटकीय गन्तव्य भएको बताउँदै यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा एवं मौलिक संस्कृतिको अदभूत अनुभूति लिनका लागि पर्यटकलाई आग्रह गर्नुभयो ।
‘‘नेपाल प्रकृतिको अनुपम सिर्जना हो । यहाँका अनुपम एवं अद्वितीय प्राकृतिक सौन्दर्यसँग रमाउन नेपाल आउनुहोस् । जिन्दगीभरिका लागि मीठो अनुभव लिएर जानुहोस्,” उहाँले भन्नुभयो, ‘‘नेपाल यो धर्तीकै मौलिक संस्कृतिको केन्द्र हो, विविधतापूण संस्कृतिमा रमाएर जिन्दगीभरिका लागि अदभूत अनूभूति सङ्गालेर जानुहोस् ।”
पर्यटनमन्त्री भट्टराईले सबैखाले अफ्ठ्यारालाई छिचोल्दै मुलुक स्थायी शान्ति, समृद्धि र स्थायित्वको फराकिलो राजमार्गमा आइपुगेको उल्लेख गर्नुभयो । उहाँले अवको यात्रा आर्थिक र सामाजिक असमानताको अन्त्य गर्दै राष्ट्रिय पूँजीको विकास गरेर समतामूलक समाज निर्माण गरी मुलुकलाई समाजवाद निर्माणको बाटोमा लैजाने बताउनुभयो ।
“नेपाल स्थायी शान्ति, स्थिरता, समृद्धि र सुशासनको बाटोमा छ । यहाँ लगानीको उपयुक्त वातावरण बनेको छ । आउनुहोस्, नेपाल लगानीको लागि ‘भर्जिन ल्याण्ड’ हो ”, पर्यटनमत्रीले भन्नुभयो ।
उहाँले विश्वलाइनै मोहित र अचम्मित पार्ने खालका असङ्ख्य संस्कृति र सम्पदाको साथै ‘अतिथि देवो भव’को मान्यतामा नेपालीहरूको अथिति सत्कार विश्वमै उत्कृष्ट मानिने उल्लेख गर्नुभयो । प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, भौगोलिक विविधता र धार्मिक केन्द्रको आधारमा पनि नेपाल पर्यटकको महत्वपूर्ण गन्तव्य हो भन्दै मन्त्री भट्टराईले विश्वको सर्वोच्च शिखर सगरमाथासहित अग्ला हिमालको पर्वतारोहण, पद्यात्रा, रक–क्लाइम्बिङ, र प्याराग्लाइडिङलगायत साहसिक पर्यटन गतिविधिको प्रमुख स्रोत भएको बताउनुभयो ।
शान्तिका अग्रदूत गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनी, हिन्दूहरूका आराध्यदेव पशुपतिनाथ मन्दिरसहितको पवित्र तीर्थस्थल तीर्थस्थलले नेपालमा धार्मिक पर्यटकको आकर्षण बढाएको उहाँले बताउनुभयो । मन्त्री भट्टराईले मुलुक स्थायी शान्ति, स्थिरता र समृद्धिको राजमार्गमा अघि बढेसँगै पर्यटनलाई नेपालको अर्थतन्त्रमा प्रमुख आधारमध्येका एक बनाउने सरकारको योजना रहेको भन्दै सरकारले नेपाल भ्रमण वर्षलाई राष्ट्रिय उत्सवको रूपमा मनाउने सङ्कल्पसहित शुभारम्भ गरेको बताउनुभयो ।
पर्यटनबाट प्राप्त हुने राजश्व तथा रोजगारी बढाई समग्र आर्थिक वृद्धि, प्रति व्यक्ति आय एवं कूल गार्हस्थ उत्पादन(जीडिपी) मा पर्यटनबाट हुने योगदानको हिस्सा बढाउने सरकारी लक्ष्य भएको सुनाउनुभयो ।
उहाँले घोषित पर्यटकीय लक्ष्यलाई पूरा गर्नका लागि पर्यटन पूर्वाधार निर्माण र सेवामा विस्तार, पर्यटनमा गुणस्तर, बजारीकरण र ब्राण्डिङ, मानव संशोधनको विकास, सांस्कृतिक सम्पदाको विकास, पर्यटनमा अध्ययन–अनुसन्धान र अभिलेखीकरणमा मन्त्रालयले जोड दिएको बताउनुभयो । उहाँले भन्नुभयो,“अव हामी यो अभियानबाट पर्यटनको राष्ट्रिय मनोविज्ञान तयार पार्नेछौं, पर्यटनमा नयाँ मानक स्थापना गर्नेछौं र विश्व समुदायको दिलदिमागमा नेपालको नयाँ बिम्ब निर्माण गर्नेछौ ।ं” कार्यक्रममा सातवटै देशका मूख्यमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरुको भ्रमण वर्षको शुभकामनाको डिजिटल सन्देश प्रस्तुत गरिएको थियो ।