बंगलादेशका राष्ट्रपति हमिद काठमाडौँमा

काठमाडौँ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणमा आउनुभएको छ । नेपालको चारदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको छ ।

उहाँलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आफैं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । बंगलादेशी राष्ट्रपतिको यो तीन दशकपछिको नेपाल भ्रमण हो ।

यो भ्रमणले दुई देशबीचको व्यापारिक सम्बन्ध पुनः प्रवर्धन हुने बताइएको छ । ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउनु भएका हमिद कात्तिक २९ गतेसम्म नेपालमा रहनुहुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गर्नुहुने राजकीय भोजमा हमिक सहभागि हुनुहुनेछ ।

त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग पनि हमिदले भेटवार्ता गर्ने तय भएको छ । हमिदले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायतसंग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको दौरानमा बंगलादेशका राष्ट्रपति हमिदले भक्तपुर दरबार क्षेत्र, चन्द्रागिरि, पोखरालगायत स्थानको पनि भ्रमण गर्नुहुनेछ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *