संसदमा प्रतिपक्षको प्रश्न, जनताले प्रधानमन्त्रीसँग गरेको कार्यसम्पादन करार खै ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले सरकार संचालनको परीक्षामा प्रधानमन्त्री असफल भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आईतबारको बैठकको विशेष समयमा बोल्दै उहाँले सरकारले संसदसंग गरेको कार्यसम्पादन करार पुरा गर्न नसकेको बताउनुभएको हो । बजेट कार्यान्वयन सरकारले संसदसंग गरेको कार्यसम्पादन भएको भन्दै उहाँले त्यो पुरा हुन नसकेकाले प्रधानमन्त्री शासन संञ्चालनको परीक्षामा असफल भएको तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्री ज्यू, तपाईले मन्त्रीसंग गरेको कार्यसम्पादन करारका बारेमा त औला उठाउनुहोला, मन्त्री फेर्नुहोला । तर जनताले प्रधानमन्त्रीसंग गरेको कार्यसम्पादन करार खै ? हिजो जनताले निर्वाचनमा गरेको कार्यसम्पादन करार पुरा भएन प्रधानमन्त्री ज्यू । त्यतिमात्रै होइन संसदले गरेको थियो । कार्यसम्पादन करार अघिल्लो बर्ष । बजेट कार्य सम्पादन करार हो । संसद र सरकारको । पुरा गर्न सक्नुभएन प्रधानमन्त्री ज्यू ।यो परीक्षामा असफल भईसक्नुभयो । आउने दिन सफलता प्राप्त होस शुभकामना व्यक्त गर्छु । ”

एक बर्षमै जहाज र रेलको सपना देखाउने सरकार तिथि मिति तोकेर सत्तापक्षले निम्ता गरेको स्मरण गराउदै उहाँले अहिले भने आधार बर्ष भनेर आर्थिक वृद्धिको बारेमा हल्का टिप्पणी नगर्न प्रधानमन्त्रीलाई सचेत गराउनुभयो ।

लोकतन्त्रका लागि सरकार नलडेको र प्रजातन्त्रका लागि लडेकाहरुले सरकार बनाएको दाबी गर्दे उहाँले एक पल्टको लडाईले जीवनभरी जे पनि गर्न अनुमति नदिने भन्दै लोकतान्त्रिक आचरण देखाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । प्रधानमन्त्रीले आफ्नो सम्बोधन मा अर्को चुनाव नभएसम्म सरकार नफेरिने भन्दै सडकमा सरकार उल्टाउने सपन नदेख्न गरेको आग्रहका सम्बन्धमा टिप्पणी गर्दे सांसद रिजालले अर्को चुनावपछि नेपाली कांग्रेसको सरकार बन्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “प्रधानमन्त्रीले भन्नुभयो अर्को चुनाव नभए सम्म यही सरकार रहन्छ । ठिक हो प्रधानमन्त्री ज्यू । यस्तो काम देखेपछि त अर्को पल्ट कांग्रेस बाहेक अरु कसको सरकार बन्छ ? यसपल्ट त यही सरकार भन्दा तरंग सत्तामा गयो गएन मलाई थाहा छैन । शुभकामना छ सत्ता भित्रै कोही तरंगित नभएको होस् । ”

सांसद रिजालले नियमावलि अनुसार प्रश्नोत्तरको समय उपलब्ध नगराईएकोमा व्यंग्यात्मक शैलीमा सभामुखको पनि ध्यानाकर्षण गराउनुभयो ।

सांसद रिजालले भन्नुभयो “प्रधानमन्त्रीको सम्बोधनको क्रममा प्रधानमन्त्रीलाई तन्दुरुस्त र स्वस्थ देखेर म यति खुसी भए कि प्रश्नोत्तर सोध्नै विर्सेछु । अरु साथीहरुलाई पनि त्यही परेछ । सभामुखले नियमावलि अनुसार प्रश्नोत्तरको समय त पक्कै दिनुभएको थियो । सभामुखले नियमावलि मिच्नुहुन्न । मलाई विश्वास छ । म भिडियो रेकर्ड पनि चेक गर्दिन । ”

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *