मगर चलचित्रकर्मी संघको १५ दिने अभिनय प्रशिक्षणको समापन

पोखरा । मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीको आयोजनामा सञ्चालित १५ दिने अभिनय प्रशिक्षणको समापन गरिएको छ । शुक्रबार आयोजित प्रशिक्षणको समापनका अवसरमा प्रशिक्षणका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरियो । सो अवसरमा बोल्दै मगर चलचित्रकर्मी संघ नेपालका केन्द्रीय उपाध्यक्ष मेजन पुनमगरले मगर जाति आफैंमा भाषिक र सांस्कृतिक हिसाबले पनि विविधता भएको समुदाय भएको बताउनुभयो ।

मगर समुदायमा रहेको भाषिक एवं सांस्कृतिक विविधतालाई चलचित्रमार्फत् उजागर गर्नुपर्ने आवश्यकता औंल्याउँदै उपाध्यक्ष पुनमगरले मगर जातिको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन मगर चलचित्र निर्माणले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । मगर चलचित्रको मौलिकता, बजार प्रवद्र्धन, लगानीको आवश्यकता, विषयवस्तु आदिका बारेमा संघले योजनाबद्ध रुपमा अघि बढ्न खोजेको भन्दै उपाध्यक्ष पुनमगरले मगर चलचित्रको विकासका लागि मगर समुदायबीचको एकता आवश्यक रहेको बताउनुभयो ।

नेपाल मगर संघका केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्ष पूर्णबहादुर रानामगरले राम्रा मगर चलचित्र निर्माण गरिनुपर्नेमा जोड दिँदै मगर चलचित्रको बजार प्रवद्र्धनका लागि मगर संघले सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो । अभिनय प्रशिक्षण कार्यक्रमले राम्रा कलाकार जन्माउन सहयोग पुग्ने भन्दै रानामगरले अभिनय प्रशिक्षणबाट मगर चलचित्र मात्र नभइ अन्य चलचित्रमा समेत अभिनय गर्नका लागि बाटो खुलेको बताउनुभयो ।

नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगर, नेपाल मगर लेखक संघका केन्द्रीय सदस्य रूद्रबहादुर श्रीसमगर र प्रशिक्षक तथा अभिनेता एवं रंगकर्मी राज काउचामगरले प्रशिक्षणमा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । कार्यक्रममा मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीका सदस्यहरूलाई संघको परिचयपत्र वितरण पनि गरिएको थियो ।

मगर चलचित्रकर्मी संघ नेपाल, कास्कीका अध्यक्ष राहुल थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव आशीष पुनमगर र कोषाध्यक्ष कमला थापामगर (प्रिया)ले स्वागत गर्नुभएको थियो । ३५ जना प्रशिक्षार्थीको सहभागिता रहेको प्रशिक्षणको संयोजन चलचित्र निर्देशक एवं निर्माता सन्तोष पिठाकोटेमगरले गर्नुभएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *