प्रदेश लोकसेवा आयोगका सदस्यको उमेर हद घटाइयो

काठमाडौं ।  प्रदेश लोकसेवा आयोगका सदस्यका लागि प्रस्तावित ४५ वर्ष पूरा हुनुपर्ने उमेर हद घटाइएको छ । संघीय संसद अन्तर्गत राज्य व्यवस्था समितिमा दुई दिनसम्म भएको बहसमा उमेर हद हटाउने निर्णय भएको हो ।

अध्यक्षका हकमा ४५ वर्ष कायम राख्दै सदस्यका हकमा १० वर्ष घटाएर ३५ बनाइएको समितिले बताएको छ । सरकारले संघीय लोकसेवा आयोगकै मापदण्ड अनुसार प्रदेश लोकसेवा आयोग गठन गर्ने प्रस्ताव गरेको थियो । तर, युवाहरुको ऊर्जा, क्षमता र ज्ञानलाई नजरअन्दाज गर्न नसकिने भन्दै केही सांसदहरुले संशोधन हालेका थिए ।

निजी क्षेत्रमा ३५ वर्षको उमेर समूहकाले विभिन्न कम्पनीको नेतृत्व गर्दै सफल भइरहेको दृष्टान्त अघि सार्दै उमेर हद घटाउने पक्षमा समितिका अधिकांश सदस्य सांसदहरुले राय राखेका थिए ।

मंगलबार पनि उमेर हद घटाउनुपर्ने विषयमा सांसदहरु यशोदा सुवेदी, नवराज सिलवाल, रेखा शर्मा, प्रेम सुवाल, देवेन्द्रराज कँडेललगायले आफ्ना धारणा राखेका थिए । सरकारका तर्फबाट प्रदेश लोक सेवा आयोग नयाँ संरचना भएकाले अनुभवी व्यक्ति जरुरी रहेको कानून मन्त्री भानुभक्त ढकालको दाबी थियो । दुई दिनदेखि सरकार र सांसदहरुबीच भएको उमेरहदको विवादमा मंगलबार सहमतिमा टुंगिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *