What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…
अब लगानीको वातावरण बन्नेमा निजी क्षेत्र ढुक्क
What To Know
- नारायण अधिकारी.
नारायण अधिकारी
चितवन । निरन्तर सरकार परिवर्तन भएर अस्थिरता हुँदा निराश बनेको निजी क्षेत्र अब बन्ने स्थिर सरकारबाट आशावादी बनेको छ । विगत लामो समयदेखि एउटै पार्टीको बहुमत नहुनु र भएपनि बीचमा नै सरकार परिवर्तन हुनु जस्ता समस्याले निजी क्षेत्र हतोत्साहित हुँदै आएको छ ।
लगानीको वातावरण बन्न नसक्दा बैंकहरुमा निक्षेप (तरलता) थुप्रिएर बसेको छ । बैंक व्याज पनि न्यून छ । यद्यपी लगानी गर्न निजी क्षेत्र सकारात्मक देखिएको छैन । जेनजी आन्दोलनसँगै निर्वाचन सम्पन्न भएर एउटा पार्टीलाई झण्डै दुई तिहाई मत पाउँदै गर्दा अब बन्ने सरकार स्थिर हुने र लगानीको वातावरण बन्नेमा निजी क्षेत्र ढुक्क छ ।
उद्योग वाणिज्य महासंघ चितवनका पूर्व अध्यक्ष राजन गौतम अबका दिन निजी क्षेत्र मैत्री बन्नेमा ढुक्क हुनुहुन्छ । उहाँले भन्नुभयो “स्थिर सरकारको निश्चिततासँगै शेयर बजारले निजी क्षेत्रलाई ढुक्क हुने अवस्था देखाएको छ ।”
नीतिगत समस्याहरु समाधान गरेर लगानीको वातावरण सिर्जना गरी रोजगारी सिर्जना गर्नुपर्ने अब बन्ने सरकारको मुख्य दायित्व हुने बताउनुभयो । बागमती प्रदेशका पूर्व उपाध्यक्ष गौतमले भन्नुभयो “निर्वाचनको बेला युवाहरुलाई आकर्षित गरिएको छ, उनीहरुलाई रोजगारी दिन पनि निजी क्षेत्रमैत्री सरकार बन्नै पर्छ ।” लगानीमा सोच्नु पर्ने अवस्थाको अन्त्य हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सभापति रवि लामिछाने उम्मेदवार रहेको चितवन क्षेत्र नं. २ मा लामिछानेका निर्वाचन प्रमुख समेत रहनु भएका गौतम रास्वपाले निर्वाचनको बेला जारी गरेको वाचापत्रमा नै निजी क्षेत्र मैत्री नीति लिने उल्लेख गरेको जनाउँदै अब लगानीको वातावरण बन्नेमा ढुक्क हुनुहुन्छ ।
स्थायी सरकार हुँदै गर्दा प्रत्यक्ष रुपमा पर्यटन व्यवसाय फस्टाउने व्यवसायीहरुको तर्क छ । देशमा अशान्ति हुँदै गर्दा भ्रमण नजान विभिन्न देशले ‘ट्राभल एड्भाईजरी’ जारी गर्ने गरेको भन्दै उहाँले अब त्यस्तो अवस्था नआउनेमा विश्वास व्यक्त गर्नुभयो । वार्षिक १०–११ लाख पर्यटक नेपाल आउने गरेको भन्दै यो संख्या २० लाख पु¥याएर पर्यटनलाई मुख्य स्रोत बनाउनु पर्ने उहाँको भनाई छ ।
पर्यटन क्षेत्र फस्टाएसँगै देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव हुने भन्दै नीतिगत रुपमा परेका अप्ठ्याराहरु हटाएर सहजीकरण गर्न उहाँले सुझाव दिनुभयो ।
उद्योग वाणिज्य महासंघका मानार्थ केन्द्रीय सदस्य राजु श्रेष्ठ स्थायी सरकार बन्ने भएसँगै उत्साहित बनेको बताउनुहुन्छ । बहुमत पु¥याउन नसक्दा विभिन्न दलहरु मिलेर सरकार बन्ने र बीचमै परिवर्तन हुने हुँदा निराश बनेका व्यवसायीहरु अब आशावादी बनेको उहाँले बताउनुभयो ।
निर्वाचनको परिणाम आएसँगै शेयर बजारमा देखिएको उत्साहले पनि निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको उहाँले बताउनुभयो । बैंकबाट १६ प्रतिशत व्याजमा ऋण लिएर लगानी गरेका व्यवसायीहरु अहिले ६ प्रतिशतमा झर्दा समेत लगानी गर्न नसकेको अवस्थामा अब बन्ने सरकारले लगानीको वातावरण बनाउने उहाँ बताउनुहुन्छ ।
स्वदेशी उत्पादनलाई प्रबद्र्धन गरेर आयात घटाउन अरबौं लगानी गरेका औषधि उत्पादकहरु पनि अब बन्ने सरकारबाट आशावादी छन् । नेपाल औषधि उत्पादक संघ (एपोन) का पूर्व अध्यक्ष जीनारायण बहादुर क्षेत्री स्थिर सरकार बनेसँगै लगानीको वातावरण बन्ने बताउनुहुन्छ । स्वदेशमा लगानी गर्नेहरुप्रति सरकारले सकारात्मक ढंगले हेर्ने वातावरण भएमा लगानी थपिने उहाँको भनाई छ ।
सुशासन र भ्रष्टाचारमुक्त भएमा लगानीको वातावरण आफै बन्ने बताउँदै केही नीतिगत समस्या भने सम्बोधन गर्नुपर्ने बताउनुभयो । रास्वपाको झण्डै दुई तिहाई बहुमत आएको जनाउँदै उहाँले संगठित रुपमा अघि बढेमा देशमा समृद्धि आउने उहाँको भनाइ छ ।
आत्मनिर्भर पेशा अंगालेका नेपालका पोल्ट्री व्यवसायी पनि अब बन्ने सरकारबाट आशावादी छन् । रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा भारतीय अवैध पोल्ट्रीजन्य पदार्थ रोकिएसँगै लाभान्वित बनेका यहाँका किसानहरु अब बन्ने सरकारबाट आशावादी रहेको बताउँछन् ।
नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेल स्थीर सरकार बनेसँगै निजी क्षेत्र लाभान्वित हुने बताउनुहुन्छ । अवैध आयात नरोकिदा व्यवसायी धरापमा परेको भन्दै उहाँले सरकारका गृहमन्त्रीलाई समस्या भन्न नपाउँदै परिवर्तन हुने कारणले विगतमा समस्या झेल्दै आएको बताउनुभयो । आफूले लगानी गरेको मूल्य समेत नपाउँदा धेरै किसान विस्थापित भएको भन्दै उहाँले अबका दिनमा यस्ता समस्या हटेर जानेमा विश्वास व्यक्त गर्नुभयो ।






