आफ्नो स्वार्थका लागि आन्दोलन गर्ने एउटा, दुःख पाउने जनता !

What To Know

  • तर, नेताहरुलाई कुनै वास्ता नै छैन । उनीहरु जसरी हुन्छ शक्ति प्रदर्शन गर्नमा केन्द्रित छ । अहिले कसैसँग पैसा छैन । जसका कारण घरजग्गा कारोबार ठप्पजस्तै बनेको छ । उता, सेयरको मूल्य पनि घटिरहेको छ । अर्थमन्त्री रामेश्वर खनालले केही दिनअघि जसरीपनि सेयर र घरजग्गाको कारोबार बढाउनुपर्ने बताए ।.
  • व्यापार व्यवसाय सबै बन्द हुन्छ । त्यहाँबाट उठ्ने राजश्व ठप्प हुन्छ । देशमा बेरोजगारी ह्वात्तै बढ्छ । भोकमरी लाग्छ । अर्थतन्त्र संकटमा पर्छ । एमाले र प्रसाईँले चाहेको यहीँ हो । तर, सरकार सचेत होस् । एमाले देश बनाउन होइन, सिद्याउन आएको पार्टी हो । एमालेबाट देशलाई कहिल्यैपनि राम्रो भएन ।.

अनुसा थापा
राजनीतिक पार्टी र अभियानहरुले धमाधम आन्दोलनको घोषणा गरिरहेका छन् । नेकपा एमालेले मंसिर ५ र ६ गते आन्दोलन गर्ने बताएको छ । त्यस्तै, दुर्गा प्रसाईँले मंसिर ७ गते मेचीदेखि महाकालीसम्म ठप्प पार्ने घोषणा गरेका छन् । आन्दोलनले एमाले र प्रसाईँलाई फाइदा होला ।

तर, मजदुरी गरेर खानेलाई कति असर पर्ला ? पार्टीहरुले सँधै आफ्नो फाइदाका लागि आन्दोलन गर्छन्, सर्वसाधारणले दुःखकष्ट पाउँछन् । एकपछि अर्को आन्दोलनका कारण सर्वसाधारणदेखि व्यापारीसम्म वाक्कदिक्क भइसकेका छन् । एकातिर काम नपाइरहँदा र व्यापार ठप्प हुँदा यस्ता आन्दोलनले सर्वसाधारण र व्यापारीलाई झनै पीडित बनाएको छ ।

गत चैत १५ गते प्रसाईँको नेतृत्वमा भएको आन्दोलनले वितण्डा मच्चायो । व्यक्तिको सम्पत्तिमा त्यत्रो क्षति भयो । काठमाडौंमा कर्फयु जारी गर्नुपर्यो । त्यतिबेला पनि गरेर खानेहरु मर्कामा परे । भदौ २३ र २४ गते फेरि जेनजीको आन्दोलन भयो । सो आन्दोलनमा देश नै खरानी बन्यो ।

आन्दोलनकारीहरुले निजी सम्पत्तिमा तोडफोड र आगजनी गरे । त्यस्तै, सरकारी सम्पत्ति ध्वस्त पारियो । हाल निजी संस्थाहरुले धमाधम कर्मचारी निकालिरहेका छन् । मुलुककै प्रतिष्ठित हायात होटलले समेत आफ्ना सबै कर्मचारीलाई कामबाट निकालेको छ । त्यहाँको मात्र सयौंको संख्यामा कर्मचारी बेरोजगार भएका छन् ।

अन्य संस्थाले पनि कर्मचारी निकालिरहेको छ । जेनजीको नेता बन्यो एउटा, तर दुःख त गरिखाने वर्गले पाए । उनीहरुलाई अब कसले रोजगारी दिने ? यो त एउटा उदाहरण मात्र हो । हरेकपटक आन्दोलन हुँदा सास्ती पाउने जनताले नै हुन् । देश र जनताको नाम लिएर देशलाई खरानी बनाइन्छ ।

जनतालाई अनाहकमा दुःख दिइन्छ । लगातारको आन्दोलनका कारण व्यापारीहरु समेत व्यापार छोड्न चाहिरहेका छन् । सँधैको बन्दहड्ताल, आन्दोलन, प्रदर्शनले पसल नै खोल्न डरमर्दो भएपछि उनीहरु विदेश पलायन हुने सोचमा पुगिसकेका छन् । नेपालको अर्थतन्त्र पछिल्लो पाँच वर्षदेखि डामाडोल अवस्थामा छ ।

व्यापारमा त सुख्खाराम नै लागेको छ । दशैं, तिहार, छठमा समेत व्यापार नभएको व्यापारीहरुको गुनासो छ । यस्तोमा आन्दोलन हुँदा व्यापारी त चुलुम्मै डुब्छन् । आम्दानी नहुँदा व्यापारीहरुले धमाधम सटर छोडेका छन् । हाल काठमाडौं उपत्यकाका अधिकांश सटर खाली भइसकेको छ ।

अबको आन्दोलनपछि सो संख्या झन् थप हुने देखिएको छ । सुशीला कार्की नेतृत्वको सरकार बन्नुअघि एमाले नै सरकारमा थियो । केपी शर्मा ओली नै प्रधानमन्त्री थिए । तर, एमालेले अर्थतन्त्रको सुधारमा चासो देखाएन । अहिले त्यहीँ एमाले अर्थतन्त्र सिद्याउन लागिपरेको छ ।

प्रसाईँ पनि त्यहीँ नै हो । आफ्नो स्वार्थका लागि प्रसाईँले आन्दोलन गर्दै आएकोमा कुनै शंका छैन । सबै जना आआफ्नो फाइदाका लागि आन्दोलन गर्ने, अनि जनताचाँहि कहाँ जाने ? व्यापारीहरुले महिनौंदेखि सटर भाडा तिर्न सकेका छैनन् । बैंकको ऋण चोखै छ । जनतालाई तनावैतनाव छ ।

तर, नेताहरुलाई कुनै वास्ता नै छैन । उनीहरु जसरी हुन्छ शक्ति प्रदर्शन गर्नमा केन्द्रित छ । अहिले कसैसँग पैसा छैन । जसका कारण घरजग्गा कारोबार ठप्पजस्तै बनेको छ । उता, सेयरको मूल्य पनि घटिरहेको छ । अर्थमन्त्री रामेश्वर खनालले केही दिनअघि जसरीपनि सेयर र घरजग्गाको कारोबार बढाउनुपर्ने बताए ।

राजश्व नउठेपछि उनले त्यो कुरा बोलेका हुन् । तर, उनले बुझ्नुपर्ने कुरा के भने, जनतासँग यतिबेला बिहानबेलुका छाक टार्ने पैसा छैन । बेरोजगारी छ, कसरी बिहानबेलुका पेट पाल्ने भन्नेमै जनता चिन्तित छन् । यस्तोमा ऐन संशोधनको के फाइदा ? ऐनले घरजग्गा र सेयर किन्ने हो र ?

के कारणले बजार डामाडोल स्थितिमा पुग्यो ? सरकारले यसमाथि अध्ययन गरेर त्यहीँअनुरुप कदम चाल्न आवश्यक छ । देशले यत्रो क्षति खेपिरहँदा सरकारले आन्दोलन गर्न रोक लगाउनुपर्छ । नत्र अहिले जति नेपालमै केही गरौं भनेर बसेका छन्, तिनीहरु पनि विदेश पलायन हुन्छन् ।

व्यापार व्यवसाय सबै बन्द हुन्छ । त्यहाँबाट उठ्ने राजश्व ठप्प हुन्छ । देशमा बेरोजगारी ह्वात्तै बढ्छ । भोकमरी लाग्छ । अर्थतन्त्र संकटमा पर्छ । एमाले र प्रसाईँले चाहेको यहीँ हो । तर, सरकार सचेत होस् । एमाले देश बनाउन होइन, सिद्याउन आएको पार्टी हो । एमालेबाट देशलाई कहिल्यैपनि राम्रो भएन ।

केपी शर्मा ओली अहिले संसद विघटनको विरोधमा आवाज उठाउँदै हिँडेका छन् । तर, आफैंले संसद् विघटन गरेको विषयमा उनी चुइक्क बोल्दैनन् । ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते संसद् विघटन गरे । त्योचाँहि उनलाई गलत लागेन । आफूले गरे जे पनि ठीक भन्ने खालको पार्टी हो एमाले ।

यता, प्रसाईँले २० लाखसम्मको ऋण मिनाहा हुनुपर्ने भनि बैंक तथा वित्तिय संस्थाका ऋणीहरुलाई उचालिरहेका छन् । बैंकमा भएको पैसा प्रसाईँको हो र ? प्रसाईँ आफैंले बैंकको अर्बौं रुपैयाँ ऋण तिरेका छैनन् । अनि उनी अरुलाई नतिर भन्दै उचाल्दै हिँड्का छन् । उसैपनि बैंक संकटमा छ ।

बैंकको लगानी जोखिममा परेको छ । बैंकले उठाउनु करोडमा छ, धितो बेच्दा केही लाख आउँछ । बैंक आफैं अप्ठेरो अवस्थाबाट गुज्रिरहँदा उनी साँवा नै मिनाहा गर भन्छन् । साँवा मिनाहा गर्यो भने बैंक टाँट पल्टिन्छ कि पल्दिैन ? बैंक टाँट पल्टिनु भनेर करोडौं बचतकर्ता डुब्नु हो ।

प्रसाईँको नियत बैंक र बचतकर्ता डुबाउने र आफू उक्सिने हो । उनले आफ्नो स्वार्थका लागि आन्दोलन गर्दैछन् । सबैले यो कुरा बुझ्न आवश्यक छ । चुनाव आउन अब तीन महिना मात्र बाँकी छ । एमाले र प्रसाईँ चुनाव हुन नदिन देशमा अशान्ति फैलाउन खोजिरहेका छन् ।

एमालेलाई चुनावमा जाँदा नराम्ररी हार्ने डर छ । एमालेले हिजो सरकारमा बस्दा सिन्को भाँचेन । एनजिओ, सहकारी, निजी स्कुल, कलेज, अस्पताललगायत सबै एमालेको हो । एमालेले नै नेपालमा लुटतन्त्र मच्चाइरहेको थियो । जसका कारण एमाले पछिल्लो समय जनताको नजरमा नाङ्गिदै गएको थियो ।

एमालेको दाउ अहिलेपनि संसद् ब्यूँताएर सरकारमा जान पाइन्छ कि भन्ने हो । एमाले यस्तो पार्टी हो कि, सरकारमा जान र देश लुट्न पाएन भने ‘पानी बिनाको माछा’ जस्तो भइहाल्छ । २०७९ सालमा भएको निर्वाचनमा काँग्रेस ८९ सीटसहित पहिलो पार्टी बनेको थियो । पुष्पकमल दाहाल र ओलीले जालझेल गरेर काँग्रेसलाई प्रधानमन्त्री खान दिएन ।

जेनजी आन्दोलनमा शेरबहादुर देउवा दम्पत्तीमाथि कुटपिट भयो । काँग्रेसले पहिलो पार्टी भएर प्रधानमन्त्री नपाउँदा र सभापतिले कुटाइ खाँदासमेत चुनावमा जाने घोषणा गरेको छ । हारजित दुवैलाई स्वीकार्दै काँग्रेस चुनावमा जाँदा एमाले भने सडकमा रमिता देखाउन र देश डामाडोल बनाउनमा केन्द्रित छ ।

ओली पटकपटक प्रधानमन्त्री भएको व्यक्ति हुन् । उनी गुण्डाको बीचमा हिँडेर देशमा गुण्डागर्दी शैलीलाई प्रोत्साहन गरेका छन् । यता, दाहाल वाइसिएलको सुरक्षामा हिँडेका छन् । यिनीहरुले सही काम गरेको भए, गुण्डाहरुको बीचमा हिँड्नुपर्थ्यो । गलत भएपछि डराउनु परिहाल्यो ।

आन्दोलन गरेर देश तहसनहस बनाउने र जनतालाई दुःख दिनेलाई सरकारले तत्काल समात्नुपर्छ । चाहे त्यो केपी शर्मा ओली नै किन नहोऊन् ?

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *