आतंक सिर्जना गर्दै प्रसाईं, समात्न ढिलो भएन र सुशीला सरकार ?

What To Know

  • सुकुम्बासीको नाममा हुकुम्बासीहरुले खोला नदी किनारका जग्गा हड्पेको प्रसाईंंलाई पनि स्पष्ट थाहा छ । तर, उनी आतंक फैलाउन सुकुम्बासी बस्ती पुगे । कहिले बैंक, वित्तिय संस्थाका पीडितलाई हातमा लिएर अराजक मच्याउने कहिले सुकुम्बासी बस्तीका नाममा । उनलाई न वित्तिय पीडितप्रति कुनै सान्त्वना छ न सुकुम्बासीप्रति । प्रसाईं त आफ्नो स्वार्थ परिपूर्तिका निम्ति उनीहरुको आवाज उठाएजसरी हिँडिरहेका छन् । र, महानगर, सरकारलाई धम्क्याइरहेका छन् ।.
  • हालसम्म प्रसाईंले पार्टी दर्ता गरेका छैनन् । यदि उनी साँच्चिकै देश र जनताका निम्ति काम गर्न चाहान्थे भने पार्टी दर्ता गरेर चुनावमा जान्थे । तर, उनलाई पनि थाहा छ कि चुनावमा आफूलाई कसैले भोट दिँदैन । त्यसकारण उनी आंतक फैलाउन लागिपरेका छन् । माओवादी पुष्ठभूमिका प्रसाईं एमाले हुँदै राजावादी बनेका छन् । माओवादी र एमालेबाट आफ्नो स्वार्थ पूरा नभएपछि उनी राजाको नजिक बनेका हुन् ।.

रुषा थापा
चिया पसल, सार्वजनिक स्थल तथा यातायातमा अहिले एउटा कुराको व्यापक चर्चा छ कि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेपालको वैदेशिक ऋण २९ खर्ब ४२ ऋण मिनाहाका निम्ति किन बोल्दैनन् ? छिमेक भारत र चीनले कब्जा गरेको दार्जिलिङ, सिक्किम, टकनपुर, कोलकत्ता, कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायत नेपाली भूभाग फिर्ता ल्याउनुपर्छ भनेर पनि बोलेका छैनन् ।

देशभरि कब्जा गरिएका सरकारी, सार्वजनिक, गुठी, ऐलानी, हदबन्दी बढी, वनजंगल, मठमन्दिर, पार्टीपौवालगायतको जग्गा फिर्ता ल्याउनुपर्छ भनेर पनि उनी बोलेको पाइँदैन । बरु उनी सुकुम्बासी बस्ती हटाउनुहुन्न भन्दै केही दिनअघि जडीबुटी, नरेफाँटको सुकुम्बासी बस्ती पुगेँ । सुकुम्बासी बस्ती हटाएमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) को घर भत्काइदिनेसमेत उनले चेतावनी दिए ।

सुकुम्बासीको नाममा हुकुम्बासीहरुले खोला नदी किनारका जग्गा हड्पेको प्रसाईंंलाई पनि स्पष्ट थाहा छ । तर, उनी आतंक फैलाउन सुकुम्बासी बस्ती पुगे । कहिले बैंक, वित्तिय संस्थाका पीडितलाई हातमा लिएर अराजक मच्याउने कहिले सुकुम्बासी बस्तीका नाममा । उनलाई न वित्तिय पीडितप्रति कुनै सान्त्वना छ न सुकुम्बासीप्रति । प्रसाईं त आफ्नो स्वार्थ परिपूर्तिका निम्ति उनीहरुको आवाज उठाएजसरी हिँडिरहेका छन् । र, महानगर, सरकारलाई धम्क्याइरहेका छन् ।

सुकुम्बासी बस्तीलाई हातमा लिएर आफ्नो पक्षमा मान्छेहरु जम्मा गर्ने उनको एक मात्र उद्देश्य देखिन्छ । प्रसाईंले विभिन्न बैंकबाट ११ अर्ब ऋण लिएका छन् । त्यो पनि कमसल धितो राखेर । बैंकको ऋण नतिर्न उनी कहिले दलमा आबद्ध हुन्छन् त कहिले राजावादी । अहिले त आफैं नेताजसरी हिँडिरहेका छन् । उनले बैंकको साँवाब्याज नतिरेको वर्षौ भइसक्यो । धितो लिलाम प्रक्रिया अघि बढाएमा प्रसाईंले अनावश्यक भ्रम फैलाएर बैंक नै डुबाउने हुँदा उनको धितोसमेत बैंकले लिलाम गर्न सकेका छैनन् ।

अर्कोतर्फ, प्रसाईंका कारण धेरै मारवाडीहरु पलायन भएका छन् । नेपालमा व्यापार व्यवसाय गरेर सरकारलाई कर तिर्दै आएका मारवाडीहरुविरुद्ध प्रसाईंले नानाथरी बोलेपछि उनीहरु आफ्नै देश फर्किएका छन् । जसका कारण आज मुलुकको राजस्वमा गम्भीर समस्या निम्तिएको छ । राजा चाहियो भन्दै प्रसाईंको नेतृत्वमा २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा आन्दोलन भयो । त्यसक्रममा दुई जनाले ज्यान गुमाए त निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट गरियो ।

‘छठपछि ठूलो आन्दोलन गछौं, महिनौं दिन बन्द हुन्छ, ग्याँस, चामल, खाद्यान्न किनेर राख्नुस्’ भनेर आम जनमानसमा त्रास फैलाए । अब फेरि आउँदो मंसिर ७ गतेबाट आन्दोलन हुन्छ भन्दै भ्रम फैलाइरहेका छन् । आन्दोलनमा भारतबाट २२ लाख मान्छे ल्याउने प्रसाईंको तयारी रहेको उनका कार्यकर्ता बताउँछन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको असरबाटै सर्वसाधारण अझै पूर्ण रुपमा बाहिर आउन सकेका छैनन् । थिलथिल परेका व्यापारी, व्यवसायीको मनोबल माथि आएको छैन । यस्तो अवस्थामा प्रसाईले आन्दोलन गर्छु भनेपछि सर्वसाधारण, व्यापारी, व्यवसायी झनै त्रसित भएका छन् । त्यसो त उनी एकाएक सुकुम्बासी बस्तीको पक्षमा हुनु पनि योजनाबद्ध देखिन्छ ।

अहिले आफू सुकुम्बासीको पक्षमा हुने र आउँदो आन्दोलनमा उनीहरुलाई पनि सहभागी गराएर अराजकता मच्याउने उनको योजना रहेको प्रष्ट छ । त्यसकारण अब सरकारले दुर्गा प्रसाईंलाई समात्नुपर्छ । नभए देशमा अराजकता फैलिरहनेछ । दुर्गा प्रसाईं अरुको रोटी सेकेर खाने खालका व्यक्ति हुन् । बैंकको ऋण तिर्न नपरोस् भनेर उनी कहिले लघुवित्त, मीटरब्याज, सहकारीपीडितलाई उकास्छन् त कहिले राजावादी, सुकुम्बासीलाई ।

यद्यपि, उनले देश र जनताको हितमा हुने कुरा वा मुद्दा उठाएको सुनिँदैन । जेनजी आन्दोलनले देश खरानी भएको छ, अब प्रसाईंले आन्दोलनले के हुने हो भन्ने डर सर्वसाधारणमा बढ्दो छ । यहाँ देश बनाउनुपर्छ भन्ने कोही छेनन् । उल्टै भएको समेत सबै सिध्याउन लागिपरेका छन् । सरकारले फागुन २१ गते चुनाव घोषणा गरिसक्यो । यही कात्तिक मसान्तसम्म दल दर्ताका निम्ति समय दिइएको छ ।

हालसम्म प्रसाईंले पार्टी दर्ता गरेका छैनन् । यदि उनी साँच्चिकै देश र जनताका निम्ति काम गर्न चाहान्थे भने पार्टी दर्ता गरेर चुनावमा जान्थे । तर, उनलाई पनि थाहा छ कि चुनावमा आफूलाई कसैले भोट दिँदैन । त्यसकारण उनी आंतक फैलाउन लागिपरेका छन् । माओवादी पुष्ठभूमिका प्रसाईं एमाले हुँदै राजावादी बनेका छन् । माओवादी र एमालेबाट आफ्नो स्वार्थ पूरा नभएपछि उनी राजाको नजिक बनेका हुन् ।

विचारा, सोझासाझा जनताले भने यो कुरा बुझ्न सकेका छैनन् । हिजो आफूहरुले खान नपाएपछि कांग्रेस–एमालेले पञ्चायती व्यवस्थाको विरोध गरे । जनताका छोराछोरी आन्दोलनमा उतारेर मारे । अनि आफू सत्तामा पुगे । कांग्रेस र एमालेले खानएको डाहामा माओवादीले ०५२ फागुन १ गते जनयुद्ध शुरु गर्यो । दश वर्षसम्म चलेको जनयुद्धमा १७ हजार जनता मारिए । जनताको करबाट बनेका खर्बौको सरकारी सम्पत्ति खरानी बनाइयो । जनयुद्धपछि माओवादी सत्तामा पुग्यो अनि त्यो सहन नसकेपछि उपेन्द्र यादवले ०६३ चैत ७ गते रौतहटको गौरमा २७ जनाको ज्यान लिए । सयौं घाइते भए ।

कांग्रेस, एमाले, माओवादी, मधेशी दलले खाएको रवि लामिछाने सहन सकेनन् । अनि ०७९ असार ७ गते उनले रास्वपा दर्ता गराए । अनि सहकारीमार्फत लाखौं सर्वसाधारणको अर्बौ रकम पचाएर अहिले जेल जीवन बिताइरहेका छन् । राजनीतिक दलहरु सत्तामा पुगेर खाएको दुर्गा प्रसाईंले देख्न सकेनन् । शुरमा प्रचण्ड र ओलीलाई हातमा लिए ।

आफ्नो घरमै बोलाएर मार्सी चामलको भात खुवाए । तर, प्रचण्ड र ओलीबाट आफ्नो काम पूरा हुने छाँटकाँट नदेखेपछि उनी पूर्वराजाको पक्षमा लागे । अब देशमा राजतन्त्र चाहिन्छ भन्दै हिँडिरहेका छन् । हिजो आफैं माओवादीमा लागेर राजतन्त्र हटाउने अनि आफ्नो स्वार्थ पूरा नभएपछि फेरि राजा चाहियो भन्ने ! प्रसाईंले आफूलाई के ठानेका छन् ? उनी खेल खेलिरहन्छ, जनता उनको साथमा लागिरहन्छन् भनेर ? जनता अब सचेत भइसके ।

प्रसाईंजस्ता स्वार्थी व्यक्तिको पछि अब जनता लाग्ने छैनन् । फागुन २१ ग्ते चुनाव गराउने नै हो भने र अर्थतन्त्रमा सुधार ल्याउनु छ भने अब सुशीला कार्की नेतृत्वको सरकारले ततकाल प्रसाईंले समात्नुपर्छ । नभए उनले चुनाव पनि हुन दिने छैनन्, उनकै कारण व्यापारी, व्यवसायीहरु पलायन भएर अर्थतन्त्र गम्भीर मोडमा जानसक्छ । सरकारले चुनाव विरोध तथा अर्थतन्त्रविरोधी जुनसुकै व्यक्ति, समूहलाई पक्राउ गर्नुपर्छ । किनकि सुशीला सरकारको काम भनेकै सफल रुपमा चुनाव सम्पन्न गराउनु हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *