बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

व्यापार व्यवसाय सुक्नु र घर खाली हुनुमा मन्दीको प्रभाव कि जनतामा सचेतनाको विकास ?
रुषा थापा
बजारमा अधिकांश व्यापारी भन्छन्, ‘व्यापार नै भएन भाडा तिर्न सकिएन ।’ सानादेखि ठुला व्यापारीसम्मका अवस्था अहिले यही छ । चाँहे त्यो किराना पसल होस् या भाटभटेनी, सुपर मार्केट वा बिग मार्ट । बहनी समेत नहुने व्यापारीहरुले गुनासो गर्ने गरेका छन् । किराना पसल वा साना व्यापार व्यवसाय गर्दै आएकाहरु भन्छन्, ‘व्यापार हुन्छ कि भनेर बिहानै पसल खोल्छौं । तर बहनीसमेत नभई बेलुका घर फर्कनुपर्छ ।’
यता, भाटभटेनी, सुपर मार्केट, बिग मार्टहरु त सुनसान देखिन्छन् । अहिले बजारमै मानिसको चहलपहल घट्दै गएको छ । त्यसो त व्यापारीहरुले आम उपभोक्ता ठग्दै आएका थिए । एक सय रुपैयाँ नपर्ने सामानलाई पाँच सय रुपैयाँमा बेच्थे । कुहिएका, सडेका, बिग्रिएका वा म्याद गुज्रिएका सामान पनि चर्को मूल्यमा बेच्थे । आम उपभोक्ताको स्वास्थ्यमाथि नै खेलबाड गरेर आफ्नो फाइदाका निम्ति व्यापारीहरुले गुणस्तरहीन सामान बेचिरहे । र, अहिले पनि यो प्रयास जारी नै छ ।
बजारमा व्यापार व्यवसायमा मन्दी आउनुमा यो पनि एक कारण हो । सञ्चारमाध्यमहरुमा यस्ता खबरहरु बाहिरिन थालेपछि सर्वसाधारण जनता सचेत भए । उनीहरुले सामान नै किन्न छोडिदिएका छन् । अहिले जोकोही पनि जताकहाँ सामान किन्दा समेत एकदमै सोचविचार गरेर मात्रै किन्छन् भने अधिकांशले किन ठगिनु वा फस्नु भनेर सामान किन्ने छोडेका छन् । यसको उदाहरण भाटभटेनी, सुपर मार्केट र बिग मार्टहरु पनि हुन् ।
केही वर्षअघिसम्म यी व्यवसायिक सटलहरुमा मानिसहरुको भीडभाड हुन्थ्यो । यहाँ सामान किन्न मानिसहरु मरिहत्ते गर्थे । भाटभटेनी, सुपर मार्केट वा बिग मार्टमा सामान किनेमा ठूल्लै उपलब्धि हुनेजस्तो गरिन्थ्यो भने यहाँका सामान गुणस्तरीय रहेको सर्वसाधारणको विश्वास थियो । तर, पछिल्लो समय यी व्यवसायिक महलहरुका सामान गुणस्तरहीन रहेका खबर फैलिएपछि वा सम्बन्धित निकायको अनुगमनले नै सोलाई पुष्टि गरेपछि अहिले जनता सचेत भएका छन् ।
अब भाटभटेनी, सुपर मार्केट र बिग मार्टले सित्तैमा सामान दिन्छुभन्दा समेत जनता लिने छैनन् । यता, यी व्यवसायिक महलहरुमा काम गर्ने कर्मचारीहरुले पनि महिनौंदेखि तलब नपाएको गुनासो सुनिन्छ । काठमाडौं उपत्यका सुनसान बन्दै गएको छ । व्यापार व्यवसाय ठप्पै भएको सबैलाई थाहै छ । कुनै बेला मानिसको चाप थेगिनसक्नु हुने उपत्यकामा अचेल कोही बाटोमा भेट्न समेत मुस्किल पर्ने गरेको छ । कोही गाउँ त कोही विदेशीतिर हाँकिरहेका छन् ।
यहाँ व्यापार व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएकाहरु व्यापार व्यवसाय ठप्पै भएपछि सटर वा कोठा भाडा तिर्न नसकेर गाउँ वा विदेशतिर लागेका छन् । उपत्यका छोड्नेहरुको संख्या दिनप्रति दिन बढ्दो छ । यहाँका सटर, कोठा र फ्ल्याटहरु धमाधम खाली भइरहेका छन् । जसले घरधनीहरुलाई समेत तनाव दिएको छ । केही वर्षअघिसम्म उपत्यकामा सटर पाउन महाभारत हुन्थ्यो । घरधनीले मागेजति भाडा तिर्छुभन्दा समेत सटर पाइँदैन्थ्यो ।
अहिले त घरधनीहरुले भाडा घटाइदिन्छुभन्दा समेत व्यापारीहरु भटाभट सटर छोडिरहेका छन् । उपत्यका घरधनीहरुले सोझासाझा जनतालाई ठग्नु ठगेका छन् । एउटा सानो अध्याँरो कोठाको मासिक भाडा पाँच हजारदेखि २० हजार रुपैयाँसम्म असुले । एउटै सटरको भाडा २० हजारदेखि १९ लाख रुपैयाँसम्म असुले । ठाउँअनुसार फ्ल्याटको भाडा ३० हजारदेखि तीन लाखसम्म असुले । खाली सटर त २० लाखदेखि ६० लाखसम्ममा किनबेच गरियो ।
घरधनीहरुले मनलाग्दी भाडा असुलिरहे । डेराबहालको आम्दानी छ कि छैन ? उसको अवस्था के कस्तो छ ? भनेर केही सोचेनन् । उल्टै महिनाअघि भाडा माग्ने अनि नदिएमा तुरुन्तै सरेर जानू भन्ने प्रवृत्ति हाबी भयो । घरधनीको सामु सरकार नै लाचार बन्न पुग्यो भने डेराबहालहरु निरीह भएर अत्याचार सहेर बसिरहे । डेराबहाललाई केही सेवासुविधा नदिने तर बत्ती, पानी, फोहोर, इन्टरनेटको पैसा भने दोब्बर–तेब्बर असुल्ने ।
सवारीसाधन राखेको समेत मासिक दुई हजारदेखि दश हजार रुपैयाँसम्म डेराबहालबाट असुलेको पाइन्छ । घरधनीहरुको मानसिकतामा एउटै कुरा रह्यो । त्यो हो, हामीले जहिल्यै यसरी ठगिरहन पाउँछौं । अरुको दुःख, पसिनामा मोजमस्ती गर्ने बानी उनीहरुलाई पर्यो । अहिले उपत्यकासहित बाहिरी जिल्लाहरुमा धमाधम कोठा, सटर र फ्ल्याट खाली भइरहेका छन् । डेरामा बसिरहेकाले समेत भाडा तिर्न सकेका छन् ।
घर खाली हुन थालेपछि घरधनीहरुको निद्रा र भोक हराएको छ । किनकि त्यहीँ भाडाबाट उनीहरुले जीविकोपार्जन गर्दै आएका थिए । अझ सत्य कुरा भन्नुपर्दा अधिकांश घरधनीहरुको आम्दानीको स्रोत नै घर हो । घर बनाउने, चर्को भाडामा लगाउने । अनि त्यही पैसाले बैंकको किस्तादेखि घर खर्च चलाउने । यो अधिकांश घरधनीहरुको कहानी हो । तर, अहिले काम गरेको ठाउँबाट तलब नपाएपछि वा व्यापार व्यवसाय ठप्प भएर भाडा तिर्न नसकेर मानिसहरु कोठा, सटर र फ्ल्याट छोडेसँगै घरधनीहरुको मुस्किलका दिन पनि शुरु भएका छन् ।
अहिले घरधनीहरु डेराबहाल खोज्दै हिँडिरहेको भेटिन्छन् । नजिकका पसल वा चिनजानका मानिसलाई भन्छन्, ‘कोही डेरामा बस्ने छ भने मेरोमा पठाइदिनु ।’ केही समयअघिसम्म मानिसहरुले महिनौं कोठा, सटर र फ्ल्याट खोजेपनि पाउँदैन्थे । दलाली कहाँ पुग्नै पर्दथ्यो । दलाली र घरधनीको मिलेमतोमा चर्को भाडामा कोठा, सटर र फ्ल्याट पाइन्थ्यो ।
अब त घरधनी आफैं डेराबहाल खोन्दै हिँड्नुपर्ने अवस्था आइपरेको छ । यसबाट थाहा हुन्छ कि जनता सतर्क हुँदै गएका छन् । बजारमा मन्दी आएकै हो । तर, मन्दीले जनतामा आफूहरु विभिन्न क्षेत्रबाट ठगिँदै वा लुट्दिै आएको कुरा महसुस गरायो र उनीहरुलाई यसविरुद्ध लाग्न सिकायो । नेपाली जनता सोझा छन् । कोही कसैका झुठ कुरा पनि सजिलै पत्याउँछन् । यसैको फाइदा उठाएर व्यापारीदेखि घरधनीहरुले उनीहरुलाई ठग्दै आएका थिए ।
अब यो दिनको अन्त्य हुनै लागेको छ । सञ्चारमाध्यमको खबरदारीले जनतामा सचेतना अभिवृद्धि गराएको छ । गलतविरुद्ध आवाज उठाउन हिम्मत दिएको छ भने ठगीबाट जोगिन उनीहरुमा आत्मविश्वास जागेको छ । अहिले कसैका झुठा कुरामाथि सर्वसाधारण विश्वास गर्दैनन् । कोहीमाथि विश्वास गर्नुपूर्व दश पटक सोच्छन् र त्यसको पृष्ठभूमि खोज्छन् । व्यापारी र घरधनीहरु सोझासाझा जनतालाई ठग्नु ठगे र कमाउनु कमाए । अब उनीहरुको दिन गएको छ । त्यसैले पनि व्यापार व्यवसाय ठप्प भएको हो भने घरहरु खाली हुने क्रम जारी छ ।
रोचक कुरा चाँहि के छ भने जनता सचेत भइरहँदा देशको प्रधानमन्त्री, मन्त्रीहरु अझै पनि ठगिरहेका छन् । अहिले प्रधानमन्त्री, मन्त्रीहरु सिंहदरबारभित्र बस्छन् । तर, सिंहदरबार कम्पाउण्ड बाहिरका सबै जग्गा सरकारी जग्गा हो । हनुमानस्थान, कालिस्थान, घट्टेकुलो, बिजुलीबजार र सिडियो कार्यालय आसपासका जग्गा सरकारी जग्गा हो । चार दशकअघि सरकारको नाममा रहेको यो जग्गा अहिले व्यक्तिको नाममा गइसकेको छ ।
तर, देशका प्रधानमन्त्री र मन्त्रीहरुका सरकारी सम्पत्तिको संरक्षण गर्न सकेका छन् । भूमाफियाहरुले सरकारी सम्पत्तिमाथि धमाधम कब्जा जमाइरहँदा उनीहरु भने सिंहदरबारभित्र गफ हाँक्नमै व्यस्त छन् । अनि देश चलाउने र राष्ट्रको संरक्षण गर्न कुर्सीमा बसेकाहरुलाई नै सरकारी सम्पत्तिको महत्त्व नभएपछि कसैको केही लाग्छ । यस्तो अवस्थामा व्यापारीहरुले पनि सर्वसाधारण ठग्नु कुनै नौलो होइन ।